अनलाइन कक्षा वा वर्क फ्रम होमका लागि ल्यापटप किन्दै हुनुहुन्छ ? यी विषयहरुमा ध्यान दिनुहोस्

Technology Khabar २५ बैशाख २०७८, शनिबार

अनलाइन कक्षा वा वर्क फ्रम होमका लागि ल्यापटप किन्दै हुनुहुन्छ ? यी विषयहरुमा ध्यान दिनुहोस्
स्थानिय पसलमा ल्यापटप हेर्दै ग्राहकहरु । फाइल फोटो

काठमाडौं ।

विश्वमा स्मार्टफोनपछि ल्यापटप दैनिक प्रयोगको रुपमा आउने गरेको छ । कलेजमा प्रोजेक्ट बनाउने काममा होस वा व्यवसाय वा अफिसको कामका लागि ल्यापटप अनिवार्य जस्तै भईसकेको छ ।

अझ विश्वभर कोरोनाभाइरसको महामारीले गर्दा घरबाटै अनलाइन कक्षा लिने होस वा घरबाटै कार्यालयको काम गर्ने हरेक समय ल्यापटप अत्यावश्यक भईसकेको छ । त्यसैले गर्दा विश्वभर ल्यापटपको माग र बिक्री बढिरहेको छ ।

यस्तो महत्वपूर्ण डिभास किन्ने बेलामा भने हामी केहि विशेष कुराहरुमा भने ध्यान दिँदैनौं, जसले गर्दा ल्यापटप किनिसकेपछि समस्यामा पर्दछौं । ल्यापटपले तपाईँको कामलाई सजिलो बनाउनुपर्नेमा त्यहि त्यापटप किनेपछि घाँडो भयोभने त्यो सबैभन्दा टाउको दुखाई हुन्छ ।

बजारमा विभिन्न किसिमका फीचर, मोडल, डिजाइन र क्वालिटीका ल्यापटपहरु किन्न पाईन्छ जसमध्ये आफूलाई आवश्यक पर्ने ल्यापटप कस्तो किसिमको छनौट गर्ने भन्ने दुबिधा हुन्छ । त्यसैले हामी ल्यापटप किन्ने बेलामा ध्यान दिनुपर्ने विषयमा जानकारी दिँदैछौं ।

अपरेटिङ्ग सिस्टम

ल्यापटप किन्नेबेलामा यो ध्यानमा राख्नुस कि ल्यापटपमा अपरेटिङ्ग सिस्टम वा बेसिक अपरेटिङ्ग सिस्टम राखिएको छ । यदि ल्यापटपमा अपरेटिङ्ग सिस्टम छैन भने तपाईँले किनेपछि छुट्टै अपरेटिङ्ग सिस्टम राख्नुपर्ने हुन्छ, जसको लागि छुट्टै खर्च गर्नुपर्ने हुन्छ । त्यसैले ल्यापटप किन्ने बेलामा यो ध्यानमा राख्नुस की यो अपरेटिङ्ग सिस्टमसहित आउँछ की आउँदैन् । सकेसम्म अपरेटिङ्ग सिस्टम सहित ल्यापटप किन्नुहोस् ।

अपरेटिङ्ग सिस्टमको छनौट गर्दा तपाईँलाई आवश्यक पर्ने किसिमको अपरेटिंग सिस्टम प्रयोग गर्नुहोस् । अधिकतम रुपमा माइक्रोसफ्टको अपरेटिंग सिस्टम प्रयोग हुने गरेको छ भने त्यसबाहेक लिनक्स, गूगल, एप्पलको अपरेटिंग सिस्टम पनि किन्न सकिन्छ । तर सजिलोको लागि माइक्रोसफ्टको अपरेटिंग सिस्टममध्ये विण्डोज सेभेन, विण्डोज ८, विण्डोज १०, एप्पलको अपरेटिंग सिस्टम, गूगल क्रोम ओएस, उबन्टुपनि उपलब्ध छन् ।

डिस्प्ले

ल्यापटप छनौट गर्दा कसैलाई सानो स्क्रीन त कसैलाई ठूलो स्क्रीन भएको ल्यापटप मनपर्दछ । बजारमा सामान्यतया १५ इन्चको स्क्रीन साइजको ल्यापटप निकै लोकप्रिय छ जसमा कामगर्न पनि सजिलो हुन्छ । यदि ल्यापटप धेरै बोकेर हिंड्नुहुन्छ र हलुका चाहिन्छ भने सानो स्क्रीन भएको ल्यापटप किन्नुस र कार्यालय वा घरमा नै राखेर ल्यापटप प्रयोग गर्नुहुन्छ भने ठूलो स्क्रीन उपयुक्त हुन्छ ।
ल्यापटपको डिस्प्ले नर्मल एलईडी, एचडी, फूलएचडी, फोरके गुणस्तरको छ वा छैन बुझ्नुहोस् ।

प्रोसेसर तथा र्याम

ल्यापटप किन्दा यसको इन्टर्नल प्रोसेसर र र्यामको बारेमा निकै ध्यान दिनुस् । यसको कार्य क्षमतालाई निर्धारण गर्ने मुख्य विषय भनेको नै प्रोसेसर र र्याम हो । सामान्यतया अधिक र्याम र प्रोसेसर भएको ल्यापटप किन्नुस्, किनकी आवश्यक सफ्टवेयर प्रयोग गर्न भविश्यमा उपयोगी हुन्छ । कम र्याम भएको ल्यापटप ढिलो चल्ने र सुस्त गतिको हुन्छ भने सफ्टवेयरहरु प्रयोग गर्न पनि समस्या हुन्छ ।
अहिले बजारमा सामान्यतया ४ जीबी र्याम भएको ल्यापटप आउँछ र त्यो भन्दा कम र्याम भएको नलिनुस र आन्तरिक स्टोरेज पनि अधिकतम भएको ल्यापटप छनौट गर्नुहोस् ।

की बोर्ड

यदि तपाईँ ल्यापटपमा अधिक समयसम्म काम गर्नुहुन्छ भने त्यसको की बोर्ड ससक्त किसिमको छान्नुहोस् । अधिक प्रयोगले गर्दा तपाईँको ल्यापटपको की बोर्ड छिटै खराब हुनसक्ने हुँदा ध्यान दिनुस् । यदि बिजनेस ल्यापटप किन्नुहुन्छ भने की बोर्डमा जी र एच की को बीचमा नब चेक गर्नुस् । यो नबको सहयोगबाट तपाईँले आफ्नो औला आसानरुपमा की बोर्डमा राख्न सक्नुहुन्छ । सहि किबोर्ड भएको ल्यापटपबाट काम गर्न सहज हुन्छ ।

ब्याट्री

ल्यापटप संचालन गर्न र पावरका लागि ब्याट्रीको प्रयोग हुन्छ । ल्यापटपमा प्रयोग हुने ब्याट्री लिथियम आयनद्धारा निर्मित हुन्छ । तपाईँको ब्याट्रीको क्षमताअनुसार ल्यापटपले कतिसमयसम्म कामगर्दछ भन्ने स्पष्ट हुन्छ ।

लिथियम आयन ब्याट्रीद्धारा संचालिन हुने ल्यापटपको ब्याट्रीको एमएएच जाँच गर्नुस् । जति धेरै एमएएच हुन्छ त्यति नै धेरै समयसम्म ब्याट्री ब्याकअप पाईन्छ । निरन्तर धेरै अवधिसम्म ल्यापटप प्रयोग गर्नुहुन्छ भने अधिक ब्याकअप भएको ब्याट्रीसहितको स्मार्टफोन किन्नुहोस् ।

अन्य एसेसरिज र फिचरहरु

यसबाहेक तपाईँले ल्यापटपका साथमा आउने एसेसरिजको क्वालिटीहरु पनि परिक्षण गर्नुहोस् । र त्यो आफूले सहजरुपमा प्रयोग गर्न सकिने किसिमको छ वा छैन भन्ने जानकारी राख्नुस् । त्यस्तै ल्यापटपमा कतिवटा र कस्तो प्रकारको पोर्टहरु राखिएका छन् । के के एसेरिजहरु कस्तो अवस्थामा आउँछन र आफूलाई प्रयोग गर्ने किसिमका छन वा छैनन् । थप एसेसरिजहरु के के चाहिन्छ इत्यादीको बारेमा समेत जान्नु पर्दछ ।

वारेन्टी वा मर्मत सेवा

ल्याटप किनेर मात्र हुँदैन त्यसमा भएको वारेन्टी वा ग्यारेन्टी लगायतका विषयमा बुझ्नुहोस् । कति समयमा मर्मतको सेवा वा आफ्टर सेल्स सेवा उपलब्ध छ वा छैन् । यसमा कस्ता किसिमका मर्मतका सेवाहरु प्राप्त हुन्छन भन्ने बारेमा जानकारी लिनुहोस् ।

easy care

प्रकाशित: २५ बैशाख २०७८, शनिबार