दूरसञ्चार प्राधिकरणले भन्यो- निषेधाज्ञा अवधिभर शुल्क तिर्न नसक्ने सेवाग्राहीको इन्टरनेट सेवा नकाट

Technology Khabar २२ बैशाख २०७८, बुधबार

काठमाडौं ।

अपडेटः आजै प्रकाशित सो बारेको सूचना हालै प्राधिकरणले आफ्नो वेबसाइटबाट हटाएको छ । प्राधिकरण स्रोतकाअनुसार पुनः नयाँ किसिमले सूचना जारी गरिनेछ ।

नेपाल दूरसञ्चार प्राधिकरणले निषेधाज्ञाको अवधिभर सेवाग्राहीहरुको दूरसञ्चार तथा इन्टरनेट सेवा नकाटन र सेवा सूचारु राख्नका लागि सबै सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।

प्राधिकरणले हालै केहि सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने जनगुनासो प्राप्त भएको भन्दै सेवा प्रदायकहरुलाई निषेधाज्ञाको अवधिभर ग्राहकहरुको इन्टरनेट सेवा सुचारु राखिराख्न र लाइन नकाट्न भन्दै सबै सेवा प्रदायकहरुलाई अनुरोध गरेको हो ।

सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले कोभिड-१९ को संक्रमणले विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लागेको र उपभोक्ताहरु घरभित्रै बस्न बाध्य भएको अवस्थामा तत्काल शुल्क तिर्न नसक्ने सेवाग्राहीहरुको इन्टरनेट सेवा निरन्तर दिन र सहज भएपछि शुल्क लिनका लागि सेवा प्रदायक कम्पनीहरुलाई अनुरोध गरेको हो ।

‘अहिलेको अवस्थामा इन्टरनेट सेवा काटिँदा आम उपभोक्तामा नकारात्मक असर पर्न जानेतर्फ सचेत भई महशुल भुक्तानी गर्न असमर्थ ग्राहकहरुको सेवा नेपाल सरकारद्धारा जारि निषेधाज्ञा अवधिभर निरन्तर सञ्चालन हुने व्यवस्था गरी परिस्थिति अनुकुल भए पश्चात बिलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनुहुन अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरु प्रमुख दूरसञ्चार सेवा प्रदायकहरुलगायतलाई अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।

त्यसैगरि प्राधिकरणले सम्भव भएसम्म विद्युतीय माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न र सर्भिस सेन्टरमार्फत सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हने गरी महशुल भुक्तानी लिने व्यवस्था गर्न समेत अनुरोध गरेको छ ।

easy care

प्रकाशित: २२ बैशाख २०७८, बुधबार