अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याए आफ्नै वेबसाइट

Technology Khabar २२ बैशाख २०७८, बुधबार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याए आफ्नै वेबसाइट
Classic Tech

सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतले प्रतिबन्ध लगाएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट सञ्चालनमा ल्याएका छन्।

ट्रम्पले अनलाइनमार्फत् सञ्चार गर्न डोनाल्डजेट्रम्प डट कम व्यक्तिगत वेबसाइट सार्वजनिक गरेका हुन्।

सो वेबसाइटमा ट्रम्पका तस्बिर, भिडिओ र उनका सन्देशहरू समावेश गरिएका छन्। ट्रम्पले त्यहाँ गरेका पोष्टलाई फेसबुक र ट्वीटरमा सेयर गर्न मिल्ने बनाइएको छ। तर पोष्टमूनि कमेन्ट गर्ने सुविधा भने छैन।

सो वेबसाइटले सिधै ट्रम्पको डेस्कबाट जानकारीहरु प्रकाशित गर्ने बताएको छ ।

उनलाई ट्विटरले प्रतिबन्ध लगाएको छ भने फेसबुकले र युट्यूबले सस्पेन्ड गरेका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय ट्रम्पले त्यसपछि प्रेस विज्ञप्तीमार्फत आफ्ना भनाई राख्दै आएका छन् । तर अब भने उनको वेबसाइटले ती सबैलाई समावेश गर्नेछ ।

नयाँ वेबसाइटमा ट्रम्पले नयाँ कन्टेन्ट पोष्ट गर्नासाथ नोटिफिकेसन आउने गरी साइन इन गर्न मिल्ने अप्सन पनि राखिएको छ। यूजरहरुले पोस्टलाई लाइक र सामाजिक सञ्जालहरुमा सेयर गर्न सक्ने सुबिधा रहेको छ ।

ट्रम्पमा बरिष्ठ सल्लाहकार जेसोन मिलरले ट्वीटरमार्फत् नयाँ वेबसाइटबारे जानकारी दिन खोजेका छन्।

‘राष्ट्रपति ट्रम्पको वेबसाइट उनको पहिलो कार्यकालका महत्वपूर्ण काम र पछिल्ला वक्तव्य उपलब्ध हुने स्रोत हो तर यो नयाँ सामाजिक सञ्जाल प्लेटफर्म होइन,’ उनले ट्वीटरमा लेखेका छन्। गत मार्चमा उनले नयाँ सामाजिक सञ्जाल नै ल्याउने बताएका थिए ।

सो साइटमा राखिएका कतिपय विषयहरुले गत वर्षको अमेरिकी राष्ट्रपति निर्वाचनमा धाँधली भएको दाबी गरेका छन् ।

गत वर्षको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्पले अन्तिमसम्म पनि आफ्नो हार स्वीकारेका थिएनन्।
गत जनवरी ६ मा ट्रम्पको आव्हानमा उनका समर्थकले अमेरिकाको संसद भवनमा आक्रमण गरेका थिए। डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको संयुक्त बैठकलाई बिथोल्न ट्रम्प समर्थक सुरक्षा बार तोड्दै हलमा प्रवेश गरेका थिए।

अराजकता फैलाएको भन्दै त्यसपछि सामाजिक सञ्जालहरूले ट्रम्पको एकाउन्ट बन्द गरिदिएका थिए।

अहिलेको नयाँ वेबसाइट फेसबुकले ट्रम्पको एकाउन्ट सस्पेण्ड गरिदिएको बारेमा ओभरसाइट बोर्डको निर्णय गर्ने ठिक एक दिन अगाडी आएको छ । एजेन्सीहरु

TK Viber

प्रकाशित: २२ बैशाख २०७८, बुधबार

Loading...