अनलाइन बैंकिङ गर्नुहुन्छ? सुरक्षाका लागि यी १२ कुरा याद गर्नुहोस्

Technology Khabar २१ बैशाख २०७८, मंगलवार

अनलाइन बैंकिङ गर्नुहुन्छ? सुरक्षाका लागि यी १२ कुरा याद गर्नुहोस्

काठमाडौं ।

अनलाइन बैकिङमार्फत छिटो र सजिलो तरिकाले बिल तिर्ने, रकम ट्रान्सफर गर्नेलगायतका अन्य कारोबार गर्न सकिन्छ।

तर यसमा सुरक्षाको खतरा भने सधैं रहन्छ। ह्याकरहरुले अरुको रकम चोर्न फिशिङ, भिशिङ तथा स्किमिङजस्ता ठग उपायहरु अपनाउने गर्दछन्। यस्ता ठगीबाट बच्न हामीले केही आधारभूत चालचलनलाई व्यवहारमा ल्याउन सक्छाैं।

अनलाइन बैंकिङ गर्नेहरुले गर्नुपर्ने र गर्न नहुने १२ कुराहरु यस्ता छन्:

  • अनलाइन कारोबार गर्दा सार्वजनिक वाइफाइ प्रयोग नगर्नुस्

अनलाइन बैंकिङ कारोबार गर्दा कहिले पनि सार्वजनिक वाइफाइको प्रयोग नगर्नुस्। यस्ता कनेक्शन असुरक्षित हुन्छन् रयसमार्फत् ह्याकरहरुले तपाईँको डिभाइसमा ह्याकिङ सफ्टवयर हालेर तपाईँका गोप्य विवरण चोर्न सक्छन्।

  • सार्वजनिक चार्जिङ स्टेशनमा मोबाइल चार्ज नगर्नुहोस्

यूएसबी केबलमार्फत् अरुको व्यक्तिगत विवरण चोर्ने जुस ज्याकिङको खतराबाट बच्न हामीले सार्वजनिक चार्जिङ स्टेशनमा मोबाइल चार्ज गर्नुहुँदैन। आफ्नै चार्जिङ केबल वा पावरबैंक बोकेर हिँड्नु उत्तम हुन्छ।

  • बैंकको ग्राहक सेवा केन्द्र वा अन्य महत्वपूर्ण नम्बर गुगलमा नखोज्नुस्

यदि बैंकको ग्राहक सेवा केन्द्र वा अन्य महत्वपूर्ण नम्बर चाहिएमा, सोधपूछ वा गुनासोका लागि फोन नम्बर र इमेल एड्रेस चाहिएमा सोझै बैंकको वेबसाइटमा जानुहोस्।

  • गुगल प्ले वा एप्पल एपस्टोरबाहेक अन्तबाट एप इन्स्टल नगर्नुस्

हामीले गुगल प्लेस्टोर वा एप्पल एपस्टोर जस्तो आधिकारिक साइटबाट मात्र एप डाउनलोड गर्नुपर्छ। अनाधिकारिक र तेस्रो पक्षका वेबसाइटबाट एप डाउनलोड गर्दा स्मार्टफोन र यसमा भएका गोप्य डाटा पनि असुरक्षित हुन सक्छ।

  • एन्ड्रोइड सेक्युरिटी अपडेटलाई बेवास्ता नगर्नुस्, तिनीहरुलाई इन्स्टल गर्नुहोस्

सफटवयर अपडेटले स्मार्टफोनमा भएका समस्याहरुलाई हल मात्रै गर्दैनन् बरु साइबर जोखिमसमेत कम गर्छन्। अत्याधुनिक र अपडेटेड अपरेटिङ सिस्टममा अत्याधुनिक सेक्युरिटी प्याच हुने हुनाले ह्याकरहरुले सजिलै ह्याक गर्न सक्दैनन्।

  • मेल तथा एसएमएसमा पठाइएका लिंक पक्का नगरी क्लिक नगर्नुस्

कारोबारसँग सम्बन्धित कुनै पनि लिंक यदि तपाईँको मेल वा एसएमएसमा आएको छ भने राम्ररी पक्का नगरी क्लिक नगर्नुस्। ह्याकरहरुले यस्ता लिंक पठाउँदा छिटो गर्न पनि सुझाएका हुन्छन्। त्यसैले लिंक राम्ररी पढेर र यकिन गरेर मात्र क्लिक गर्नुहोस्।

  • आफ्नो केवाईसीसम्बन्धी विवरण सामाजिक सञ्जालमा नराख्नुस्

सामाजिक सञ्जालमा कुनै पनि गुनासा तथा जानकारी नसोध्नुहोस्। यसबाट तपाईँको गोप्य विवरण बाहिरिन सक्छ र यसमार्फत् ह्याकरहरुले फाइदा उठाउन सक्छन्। बैंकसँग जोडिन सामाजिक सञ्जाल प्रयोग गर्नेले पनि डाइरेक्ट मेसेज वा डीएम गर्नुपर्छ।

  • अनलाइन बैंकिङका लागि सजिलो पासवर्ड नराख्नुस्

सजिलो पासवर्ड ह्याकरहरुले सजिलै पत्ता लगाउन वा ह्याक गर्न सक्छन्।यसैले यस्ता ठगहरुबाट बच्न गाह्रो र धेरै प्रकारका अंक र अक्षर तथा विशेष अक्षरहरु मिसिएको पासवर्ड बनाउनु उपयुक्त हुन्छ।

  • अनलाइन बैंकिङको पासवर्ड बेलाबेलामा बदल्न नबिर्सिनुस्

बैंकिङ कारोबारसँग सम्बन्धित पासवर्डहरु प्रत्येक तीन वा चार महिनामा बदल्ने गर्नुहोस्। यसो गर्दा ह्याकरहरुबाट बच्न सजिलो हुन्छ।

  • आफूले सधैं प्रयोग नगर्ने इमेल ठेगाना र मोबाइल नम्बर बैंक एकाउन्टमा नराख्नुस्

बैंकमा गरिएका कारोबारहरुको जानकारी हाम्रो मोबाइलमा आउँछ। सधैं प्रयोग नगर्ने मोबाइल नम्बर राख्दा यस्ता जानकारी थाहा नहुन सक्छ। यसो हुँदा बैक एकाउन्ट ह्याक नै भए पनि हामीलाई समयमा थाहा हुँदैन।

  • बैंकसँग सम्बन्धित जानकारी फोनमार्फत कसैलाई नदिनुस्

अनलाइन ठगहरु विशेषगरी बैंकका प्रतिनिधि बनेर ग्राहकहरुसँग बैंकिङ विवरण माग्ने गर्छन्। त्यसै फोनमा कसैले यस्ता विवरण मागेमा नदिनुहोस्। बैकले कहिल्यै तपाईँको व्यक्तिगत विवरण माग्दैन भन्ने कुरा सधैं ख्याल राख्नुपर्छ।

  • आफ्नो स्मार्टफोनमा रहेका एपहरुलाई अनावश्यक पर्मिशन नदिनुस्

कुनै पनि एपलाई पर्मिशन दिनुअगाडि राम्ररी पढ्नुस्। एपहरुलाई डाटा एक्सेस गर्न इजाजत दिनाले ह्याकरहरुले तपाईँका विवरण चोर्न सक्छन्।

easy care

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार