Technology Khabar १९ बैशाख २०७८, आईतवार
काठमाडौं ।
फ्लोरिडाको दुवै सदनले राजनीतिज्ञलाई प्रतिबन्ध लगाउने सामाजिक सञ्जाल र यसका सञ्चालक टेक कम्पनीहरुलाई जरिबाना गराउने विधेयक पारित गरेका छन्।
उक्त विधेयकमा अब ट्रम्प प्रशासनका सदस्य गभर्नर रन डेसान्टिसले हस्ताक्षर गर्न बाँकी छ। विधेयकले १४ दिनसम्म कुनै राजनीतिज्ञको एकाउन्ट बन्द गर्न सक्ने तर त्यसभन्दा बढी गरेमा नियम उल्लंघन गरेको आरोपमा दैनिक २ लाख ५० हजार डलरसम्म जरिबाना गराउन सक्नेछ।
इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रताका प्रचार प्रसार गर्ने नेटच्वाइस नामक समूहले गत महिना उक्त विधेयकको विरुद्धमा अदालतमा बयान दिएको थियो। गत जनवरीमा वाशिङ्टन डीसीमा भएको प्रदर्शनपछि डोनल्ड ट्रम्पलाई ट्विटर, फेसबुक र युट्युबले प्रतिबन्ध लगाएका थिए।
ह्वाइटहाउस छोडेपछि ट्रम्प निकै समय फ्लोरिडा बसेको र डेसान्टिसलगायत त्यहाँका उच्च पदस्थ रिपब्लिकन अधिकारीहरुसँग निकटता बढाएको बुझिएको छ।
केही आलोचकहरुले भने उक्त विधेयकले सोच्नै नसकिने प्रकारको समस्या ल्याउने चेतावनी दिएका छन्।
गत महिना नेटच्वाइसका सीईओ स्टिभ डेलबियाङ्कोले उक्त विधेयकको विरुद्धमा बयान दिँदै यदि राज्यले कुनै चर्चलाई यूजरले गरेको कमेन्टलाई वा तेस्रो पक्षले आफ्नो पेजमा गरेको गर्भपतनलाई बढावा दिने विज्ञापनलाई इजाजत दिन आदेश दिएमा के हुनेछ भन्दै प्रतिप्रश्न गरेका थिए।
उक्त विधेयक विहीबार दुवै सदनबाट पारित भएकोमा टेक कम्पनीहरु अमेरिकन्स फर्स्ट अमेन्डमेन्ट राइट्सको उल्लंघन भएको भन्दै यसका विरुद्द अदालत जानसक्ने बताइएको छ।
उक्त विधेयकमा इन्टरटेन्मेन्ट कम्प्लेक्स वा थिम पार्क चलाउने कम्पनीलाई भने समेटेको छैन। यसले फ्लोरिडामै रहेको डिज्नीलाई भने उन्मुक्ति दिएको छ।
प्रकाशित: १९ बैशाख २०७८, आईतवार