प्रधानमन्त्रीद्धारा सूचना प्रविधि भवन उद्घाटन, प्रविधिको विकाससँगै प्राविधिक शिक्षालाई अगाडि लैजान जोड

Technology Khabar १७ बैशाख २०७८, शुक्रबार

प्रधानमन्त्रीद्धारा सूचना प्रविधि भवन उद्घाटन, प्रविधिको विकाससँगै प्राविधिक शिक्षालाई अगाडि लैजान जोड
Classic Tech

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र समाजलाई योगदान पुर्‍याउनसक्ने एवम् जीवनउपयोगी शिक्षा निर्माणमा सरकारको जोड रहेको बताएका छन् ।

शुक्रबार प्राविधिक प्रशिक्षण प्रतिष्ठानको २९ औं वार्षिकोत्सवको अवसर तथा कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा निर्मित सूचना प्रविधि भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासका प्राविधिक एवम् जीवनउपयोगी शिक्षा आवश्यक रहेको बताएका हुन् ।

यसका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन २०४५ अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदायक निकायहरुसँग समन्वय गर्ने उदेश्यकासाथ सन् १९९१ मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को स्थापना गरिएकोमा यसले प्राविधिक क्षेत्रमा जनशक्तिहरु उत्पादन गरेको प्रधानमन्त्री ओलीले बताए ।

हाल परिषद्ले देशैभरका ३ सय ८३ पालिकाहरुका आधारभूत र माध्यामिक तहका युवाहरुमा शिक्षा र प्रविधिको पहुँच विस्तार गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्राविधिक प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको यस परिषद्ले विशेषगरी कृषि, वन, ईन्जिनियरिङ र स्वास्थ्य क्षेत्रमा जनशक्तिहरु उत्पादन गर्दै आएकोमा जनशक्तिको सीप विकास र कार्यररत प्रशिक्षकहरुको क्षमता अधिवृद्धिमा पनि प्रधानमन्त्री ओलीले जोड दिए । उनले शिक्षा हासिल गरिसकेपछि प्रमाणपत्र कुनै समस्या नबन्ने बरु, जीवनलाई सहज ढंगले अगाडि बढाउनसक्ने शिक्षालाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

सरकारले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प लिएर अघि बढिरहेकोमा प्रविधिको विकाससँगसँगै प्राविधिक शिक्षालाई अगाडि लैजानुपर्ने उनले बताए ।

कोरियाले नेपाललाई दिएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि र सूचना प्राविधिकसँग अभ्यस्त गराउने तयारी रहेको छ । सो भवनमा इपुस्तकालय समेत निर्माण गरिएको छ।

TK Viber

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

Loading...