गुणस्तरीय फोरजी सेवा चलाउन ८०० मेगाहर्ज ब्याण्ड सपोर्ट गर्ने मोबाइल किन्न टेलिकमको अनुरोध

Technology Khabar १५ बैशाख २०७८, बुधबार

गुणस्तरीय फोरजी सेवा चलाउन ८०० मेगाहर्ज ब्याण्ड सपोर्ट गर्ने मोबाइल किन्न टेलिकमको अनुरोध
नेपाल टेलिकमको फोरजी लोगो । फाइल फोटो
Classic Tech

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरुलाई आफ्नो नेटवर्कमा चल्ने र सपोर्ट गर्ने मोबाइल डिभाइसहरु किन्न अनुरोध गर्दै एसएमएस गरेको छ।

कम्पनीले आफ्नो ८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा ग्राहकहरुको पहुँच र प्रयोग बढाउने योजनाअन्तरगत कम्पनीले आफ्ना ग्राहकहरुलाई सो ब्याण्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने डिभाइसहरु मात्र किन्नका लागि भनेको हो ।

‘नेपाल टेलिकमको फोरजी सेवा गुणस्तरीय सेवा प्राप्त गर्नका लागि ८०० मेगाहर्ज ब्याण्ड सपोर्ट गर्ने डिभाइसहरु किन्नुहोस्,’ एसएमएसमा भनिएको छ।

कम्पनीले विभिन्न माध्यमबाट सो बारेमा जानकारी दिईरहेको टेलिकमका सह प्रवक्ता रंजित लोहियाले जानकारी दिए ।

‘हामीले एसएमएस र सामाजिक सन्जालमार्फत जानकारी दिईरहेका छौं । ८०० मेगाहर्ज ब्याण्ड सपोर्ट गर्ने डिभाइसहरु किन्न र आयात गर्नका लागि आपूर्तिकर्ताहरुसँग पनि छलफल गरिरहेका छौं,’ सह प्रवक्ताले भने ।

उनकाअनुसार एसएमएस आज पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुलाई मात्र पठाईएको छ भने भोलीबाट प्रिपेड सेवाग्राहीहरुलाई समेत पठाईनेछ ।

पछिल्लो दिनमा टेलिकमले ब्याण्ड २० अर्थात ८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीको पुरै उपयोग गर्नका लागि विभिन्न कार्यहरु गरिरहेको छ ।

यसअघि कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई ब्याण्ड २० सपोर्ट गर्ने मोबाइल डिभाइसहरु आयात गर्नका लागि मात्र अनुमति दिन भन्दै पत्र अनुरोध गरेको थियो ।

नेपाल टेलिकमले प्रयोग गरिरहेको सो ब्याण्डको फ्रिक्वेन्सी छिमेकी मुलुक भारतमा प्रयोग नहुँदा र सोहि ब्याण्डमा आधारित मोबाइल डिभाइसहरुले सपोर्ट नगर्दा कम्पनीलाई दूर्गम क्षेत्रका ग्राहकहरुलाई सेवा दिन कठिन भएको बताउँदै आएको छ ।

टेलिकमले हाल विभिन्न ह्याण्डसेट आयातकर्ता तथा मोबाइल ब्राण्ड कम्पनीहरुसँग ब्याण्ड २० मा आधारित डिभाइसहरु ल्याउन र सपोर्ट गर्ने किसिमको बनाउन अनुरोध गर्दै आएको छ ।

यसका लागि निरन्तर मोबाइल ब्राण्डका प्रतिनिधिहरुसँग छलफल भईरहेको टेलिकमका एक प्राविधिक अधिकृतले जानकारी दिए । उनकाअनुसार विशेषगरि दूर्गम र ग्रामिण भेगमा बस्ने सेवाग्राहीहरुले ब्याण्ड २० सपोर्ट गर्ने डिभाइस नहुँदा गुणस्तरीय फोरजी सेवा पाएका छैनन् ।

‘यसको लागि हामीले सस्ता मोडलका फोन आयात गर्नेहरुलाई समेत भनेकाछौं । उनीहरुले त्यस बारेमा ध्यान नै नदिएको स्वीकार गरेका छन् ।’ उनले भने, ‘यो ब्याण्ड दूर्गम भेगका लागि उपयोगी भएको र गुणस्तीय भएपनि हाम्रो इकोसिस्टममा डिभाइसहरु सपोर्टिभ नहुँदा समस्या देखियो ।’

टेलिकमले ब्याण्ड २० सपोर्टका लागि सहयोग गर्न र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन मोबाइल डिभाइस ब्राण्ड कम्पनीले पनि सहयोग  गर्नुपर्ने बताउँदै आएको छ । नेपालमा उपलब्ध हुने प्रमुख मोबाइल ह्याण्डसेटहरुमा नै ब्याण्ड २० सपोर्ट नभएको देखिएको टेलिकमको भनाई छ ।

ग्रामिण र शहर भन्दा बाहिरको भेगमा फोरजी सेवा नचलेको गुनासोहरु टेलिकमले पटक पटक प्राप्त गरिरहेको जनाएको छ । सोहीअनुसार पनि ब्याण्ड २० सपोर्ट गर्ने डिभाइसको बारेमा सचेतना गरिरहेको उल्लेख गरेको छ ।

टेलिकमले ८०० मेगाहर्जमा बाहेक ९००, १८००, २१०० मेगाहर्ज ब्याण्डमा पनि फोरजी नेटवर्क सञ्चालन गरिरहेको छ ।

TK Viber

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

Loading...