सूचना प्रविधि उद्योगलाई गाउँसम्म लानुपर्ने चेम्बरको सुझाव

Technology Khabar १३ बैशाख २०७८, सोमबार

सूचना प्रविधि उद्योगलाई गाउँसम्म लानुपर्ने चेम्बरको सुझाव

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सले आईटी इन्डस्ट्री (सूचना प्रविधि उद्योग) लाई विकास गरेर गाउँ गाउँसम्म पुर्याउनस पर्ने बताएको छ।

पूर्व बजेट छलफलका क्रममा चेम्बर अफ कमर्सले यस्तो धारणा व्यक्त गरेको हो। यसबाहेक युवाहरूलाई स्टार्ट अप बिजनेसमा प्रोत्साहन हुने गरी बजेटमा व्यवस्था गरिनुपर्ने उसको सुझाव थियो।

नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि चेम्बरका तर्फबाट यी लगायतका सुझावहरू पेश गरेका हुन्।

सुझावमा आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गर्न पनि सुझाइएको थियो।

“कोभिड १९ महामारीको प्रकोपबाट समग्र अर्थतन्त्र र जनजीवन लामो समयसम्म प्रभावित हुने अवस्था रहेकाले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेटको लक्ष्य निर्धारण गर्नुपर्दछ”, अध्यक्ष मल्लले भन्नुभयो, “नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी वर्षमा पनि निरन्तरता दिइनुपर्दछ ।”

अर्थ मन्त्री पौडेलले चेम्बरले बजेट तर्जुमाका लागि दिएका सुझावहरू अध्ययन गरी बजेटमा सम्बोधन गर्न प्रयास गरिने बताए ।

सुझाव हस्तान्तरण कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्षहरू दीपक मलहोत्रा, दीपक श्रेष्ठ र सुरेन्द्रकुमार श्रेष्ठ तथा राजश्व समितिका सभापति परशुराम दाहाल सहभागी थिए। मन्त्रालयका तर्फबाट अर्थमन्त्री पौडेल, सचिव शिशिरकुमार ढुंगानासहितका अधिकारीहरू सहभागी थिए ।

easy care

प्रकाशित: १३ बैशाख २०७८, सोमबार