स्मार्ट लाइसेन्सका लागि सेवाग्राहीहरु एकवर्ष कुर्न बाध्य

Technology Khabar १० बैशाख २०७८, शुक्रबार

स्मार्ट लाइसेन्सका लागि सेवाग्राहीहरु एकवर्ष कुर्न बाध्य

काठमाडौं ।

जोरपाटीका सङ्गम तामाङले सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० लिन निवेदन दिएको करिब १४ महिना बित्यो । उनी चार पटक यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्त कुनाको ६ नम्बरको वितरण शाखामा पुगेर फर्केको बताए । स्मार्ट लाइसेन्स पाउन हैरान खेप्नुपरेको उनले गुनासो पोखे ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न एक वर्ष बढी समय लगाउने गरेको पाइएको हो ।

स्मार्ट लाइसेन्स पाउन एक वर्षभन्दा बढी कुर्नुपर्ने बाध्यता भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले स्वीकार गरे । स्मार्ट कार्ड कम भएकाले प्रिन्ट नगरिएको उनले बताए।

‘हामीले नयाँ कार्ड ल्याउन पहल थालेका छौं तीन महिनाभित्र नयाँ कार्ड ल्याउने लक्ष्य छ । त्यसपछि समयमै लाइसेन्स वितरण गर्ने लक्ष्य राखेको छ ।’ उनले भने।

एक वर्षभन्दा बढीदेखि लाइसेन्स नपाएको भन्दै एकान्तकुना पुगेका सेवाग्राहीले यातायात व्यवस्था विभागका कर्मचारीसँग दुखेसो पोख्ने गरेका थिए । विभागले स्मार्ट लाइसेन्स तत्काल उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो तर यो कार्यन्वयन हुनसकेको छैन । सवारी चालकहरुले समेत लाइसेन्स नहुँदा ट्राफिक प्रहरीबाट अपमान र झन्झट भोग्नुपरेको बताएका छन् ।

सवारी चालक शंकर राईले भने, ‘दिएको रसिद पनि सबै अक्षर मेटिएको छ, प्रहरीले पटक पटक चिट काट्ने गरेको गुनासो पोख्दै विभागले तत्काल उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग गरे।

लिखित र ट्राइल परीक्षापास गरेका, नवीकरण गर्न दिइएका मध्ये एक वर्षदेखि करिब ५० हजारभन्दा बढीको लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको सो कार्यालयले जनाएको छ । तर केही पहुँचवालाले भने लाइसेन्स तत्काल प्रिन्ट गर्ने गरेको पाइएको छ । यस अघि विभागले ६० वटा मेसिनबाट मासिक २ लाख ५० हजार बढी लाइसेन्स छाप्ने मेसिन खरिद गरी तत्काल लाइसेन्स उपलब्ध गराउने जनाएको थियो । गोरखापत्रअनलाइनबाट

Global Bank
easy care

प्रकाशित: १० बैशाख २०७८, शुक्रबार

ताजा समाचार