लगानीकर्ताहरुसँग आवद्ध हुन इच्छुक स्टार्टअपहरूसँग आवेदन आव्हान

Technology Khabar ४ बैशाख २०७८, शनिबार

लगानीकर्ताहरुसँग आवद्ध हुन इच्छुक स्टार्टअपहरूसँग आवेदन आव्हान

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोग सहित महासंघका लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसंग आजबाट आवेदन आव्हान गरेको छ ।

आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ । समितिले गएको चैत्र ९ गते एक पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो ।

आवेदन महासंघको वेभसाइट मार्फत प्राप्त गर्न सकिने छ।

महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसँग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसँग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।

नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो ।

एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्दता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन (MOA), आर्टिकल अफ एशोशिएसन (AOA), र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक/संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने बताईएको छ ।

महासंघको वेभसाइटको देहायको वेभपेजबाट अनलाइन आवेदन फारम लिङक प्राप्त गर्न सकिनेछः

https://fncci.org/news/detail.php?i=2958

easy care

प्रकाशित: ४ बैशाख २०७८, शनिबार