एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

Technology Khabar ३१ चैत्र २०७७, मंगलवार

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिए ।

“शहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ”, उनले भने, “अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने देखिएको छ ।”

मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डरलाग्दो रहेको बताए।

“१८ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप विकास भएको छैन”, उनले भने, “अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएको र उनीहरुलाई खोपसमेत लगाउन नमिल्ने भएकाले सङ्क्रमण दर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गर्नुपरेको छ ।”

मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । गोरखापत्रअनलाइनबाट

easy care

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार