चार्जिङ स्टेसन निर्माणको सम्झौता हुँदै

Technology Khabar २५ चैत्र २०७७, बुधबार

चार्जिङ स्टेसन निर्माणको सम्झौता हुँदै

काठमाडौं ।

विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण सम्झौता आज (बुधबार) हुँदै छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु वाङ्दाङ न्यु इनर्जी टेक्नोलोजी कम्पनीलाई छनोट गरी सम्झौता गर्ने भएको हो ।

सम्झौता हुनासाथ निर्माण थालिने प्राधिकरणले जनाएको छ । चार्जिङ स्टेसन निर्माण परियोजनाका प्रमुख सागर ज्ञवालीले बुधबार सम्झौता हुने जानकारी दिनुुभयो । सम्झौता भएको एक वर्षमा निर्माण सकिनेछ । करिब ३८ करोड रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माण हुनेछन् ।

देशभर ५० वटा स्टेसन निर्माणका लागि १३ वटा कम्पनीले परियोजना प्रस्ताव दिएका थिए । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् । ५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच/पाँचवटा, काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा आवश्यकता भएका स्थानमा राखिने भएको छ ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ । एकै पटक तीनवटा सवारी साधन चार्ज गर्न मिल्ने गरी स्टेसन निर्माण हुनेछन् । ५० वटा स्टेसनलाई विद्युत् आपूर्तिको अवस्था हेरी सञ्चालन गरिँदै जाने प्राधिकरणको योजना छ ।

मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सकिनेछ । प्राधिकरणका अनुसार सवारी साधन चार्ज गर्ने अवस्थामा पुगेपछि पालो कुरेर बस्नु पर्दैन । सवारी साधनले सुविधाअनुसार पहिल्यै मोबाइल एप्सबाट समय बुक गर्ने व्यवस्था मिलाइने भएको छ ।

चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्नेछ । कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाटै हुनेछ । स्टेसनमा यात्रुहरू फ्रेस हुन खेल तथा खाना, खाजाको व्यवस्था हुनेछ । खाजा खाना खाने समयमा जार्च गर्न सकिने भएकाले यात्राको समय बढी खर्च हुँदैन । गोरखापत्रबाट

Global Bank
easy care

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

ताजा समाचार