अस्ट्रेलियामा पब्लिक सेफ्टी मोबाइल ब्रोडब्याण्ड परीक्षण हुँदै

Technology Khabar २४ चैत्र २०७७, मंगलवार

अस्ट्रेलियामा पब्लिक सेफ्टी मोबाइल ब्रोडब्याण्ड परीक्षण हुँदै

अस्ट्रेलियाको आकस्मिक सेवाहरुले उपयोग गर्ने पब्लिक सेफ्टी मोबाइल नेटवर्कको परीक्षणका लागि स्थानीय टीपीजी टेलिकम तथा नोकियालाई छनोट गरिएको छ।

हालसम्म आकस्मिक सेवाहरुले डेडिकेटेड रेडियो नेटवर्क प्रयोग गर्दै आइरहेकोमा यो परीक्षणले मेसेज, डाटा एनालिटिक्स, लोकेसन सर्भिस तथा रियल टाइम रिपोर्टिङका लागि एलटीई प्रविधि र डाटाको सम्भाव्यता अध्ययन गर्नेछ।

टीपीजीले यस सम्बन्धमा मंगलबार उच्चस्तरको ‘बहु सञ्चालक समाधान’ का लागि आफूहरु संघीय तथा राज्य सरकारका साथै आकस्मिक सेवाहरुसँग काम गरिरहेको बताएको छ।

‘उक्त परीक्षणले अग्रपंक्तिका कर्मचारीलाई प्रतिकूल समय तथा प्राकृतिक प्रकोपका बेला सञ्चार सुविधा उपलब्ध गराउन बहु-सञ्चालक सेवा प्रदान गर्ने मोडललाई अगाडि सार्नेछ’, टीपीजी टेलिकमका मुख्य कार्यकारी इनाकी बेरोइटाले भने।

गत वर्षको डढेलो तथा हालै न्यूसाउथवेल्स र क्वीन्सल्यान्डमा आएको बाढीले आकस्मिक सेवामा खटिएकाहरुलाई यस्ता प्रतिकूल अवस्थामा तत्काल सही निर्णय लिन सघाउनका लागि सूचनाको तत्काल जानकारी हुनु आवश्यक रहेको देखाएको छ।

गएको डिसेम्बरमा न्यूसाउथवेल्सले आकस्मिक सेवाहरुका लागि सञ्चार सुविधामा सुधार ल्याउन आफ्नो १० वर्षे योजना अद्यावधिक गरेको थियो। यस अन्तर्गत आकस्मिक सञ्चारका लागि एलटीई नेटवर्कका क्षेत्रमा ६० करोड अस्ट्रेलियन डलर छुट्याएको थियो।

TK Viber

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार

Loading...