Technology Khabar २३ चैत्र २०७७, सोमबार
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षको लागि बजेटको सिलिङ पाएको छ।
राष्ट्रिय योजना आयोगले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको लागि आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सिलिङ तोकिदिएको हो ।
आयोगले तोकेको बजेट चालु आवको हाराहारीमा नै रहेको छ भने थोरै रकम घटेको देखिन्छ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को लागि ७ अर्ब २१ करोड ७८ लाख बराबरको बजेट सिलिङ पाएको छ । चालु आर्थिक वर्षका लागि ७ अर्ब २८ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
सञ्चार मन्त्रालयका सहसचिव तथा प्रवक्ता शोभाकान्त पौडेलले मन्त्रालयलाई तोकिएको सिलिङ्गको आधारमा छलफल भईरहेको जानकारी दिए ।
‘हामीलाई आयोगबाट तोकिएको सिलिङ्गअनुसारको बजेट कार्यक्रमबारे छलफल हुँदैछ। आगामी आवमा डिजिटल नेपालको अभियानलाई ससक्तरुपमा बजेटमा समावेश गरेर लानेछौं,’ प्रवक्ता पौडेलले भने ।
मन्त्रालयले आगामी आवका लागि डिजिटल नेपालको अभियानलाई अगाडी बढाउने र सूचना प्रविधिको प्रयोगलाई जोड दिने तयारी गरेको छ ।
त्यसैगरि मन्त्रालयले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नका लागि पनि बजेट छुट्याउनेछ। मन्त्रालयले सञ्चार मन्त्री पार्वत गुरुङको नेतृत्वमा यसको लागि संघिय सांसदहरुसँग निरन्तर छलफल गरिरहेको छ भने सरोकारबालाहरुसँग समेत सुझाब माग गरेको छ।
प्रकाशित: २३ चैत्र २०७७, सोमबार