नेत्रहीन यात्रुलाई कारमा नचढाएकोमा उबरलाई ११ लाख डलर जरिबाना

Technology Khabar २२ चैत्र २०७७, आईतवार

नेत्रहीन यात्रुलाई कारमा नचढाएकोमा उबरलाई ११ लाख डलर जरिबाना
Classic Tech

नेत्रहीन यात्रुलाई नचढाएकोमा उबरलाई ११ लाख डलर जरिबाना गरिने भएको छ।

लिसा इर्भिङ नामकी एक महिलाले नेत्रहीन भएका कारण कहिलेकाहीँ उबरका ड्राइभरहरुले मुख छाड्ने र आफूसँगै कुकुरलाई कारमा चढाएकोमा गाली गर्ने गरेको पनि बताइन्। एक पटक त एउटा ड्राइभरले गन्तव्य आइपुगेको भन्दै ट्रिप नै छोट्याइदिएको उनले सुनाइन्।

एक स्वतन्त्र व्यक्तिले उबरका ड्राइभरहरुले लिसालाई दुर्व्यवहार गरेको भन्दै उजुरी दिएका थिए। उबरले आफ्ना ड्राइभरहरु कर्मचारी नभइ करारका व्यक्ति भएकाले उक्त उजुरी कम्पनीलाई नलाग्ने भन्दै पन्छिएको थियो।

सान फ्रान्सिस्को निवासी इर्भिङले आफूलाई ड्राइभरहरुले कारमा चढाउन नमान्दा कैयाैंपटक रातविरात एक्लै पर्ने हुँदा सुरक्षाका दृष्टिकोणले चिन्ता लाग्ने गरेको बताइन्।

उनले आफूलाई कार ड्राइभरहरुले कारमा चढाउन नमान्दा काममा ढिलो पुग्ने र त्यसले गर्दा कामबाटै निकालिनुपर्ने अवस्था आएको पनि गुनासो गरिन्। आफूले उबरमा उजुरी गरेपछि पनि कार ड्राइभरहरुले यस्तो हर्कत देखाउन नछोडेको उनको आरोप छ।

इर्भिङका तर्फबाट एक प्रवक्ताले भने, ‘राइडशेयरिङको विकासको फाइदा सर्वाधिक पाउनुपर्ने अमेरिकीहरुमा नेत्रहीनहरु पहिलो नम्बरमा पर्नुपर्छ। अपाङ्गता भएका अमेरिकी ऐन अन्तर्गत नेत्रहीन जानसक्ने जुनसुकै ठाउँमा एउटा पथप्रदर्शक कुकुर पनि सँगै जान सक्छ।’

यसबारेमा उबरका प्रवक्ताले विज्ञप्ति जारी गर्दै कम्पनी आफूले नेत्रहीन यात्रुहरुलाई प्रदान गरेको सहयोगप्रति गर्व गर्ने बताएका छन्।

‘उबर एप प्रयोग गर्ने ड्राइभरहरुले नेत्रहीन यात्रुहरुसँग रहेका जनावरलाई पनि लैजान तथा यससम्बन्धी अन्य कानुनहरु पालना गरुन भन्ने अपेक्षा गर्दछाैं भने यसका लागि हामी बेला बेला ड्राइभरहरुलाई जानकारी पनि दिइरहेका हुन्छै। हाम्रो समर्पित टिमले प्रत्येक गुनासोलाई केलाएर आवश्यक कदम चाल्ने छ’, प्रवक्ताले भने।

उबरको विरुद्धमा नेत्रहीन समुदायबाट कानुनी उजुरी परेको यो पहिलो पटक भने होइन। सन् २०१४ मा अमेरिकाको राष्ट्रिय नेत्रहीन महासंघले पथ प्रदर्शक कुकुरका विषयमा उबरमाथि उजुरी गरेको थियो। यो मुद्दा २०१७ मा टुंगो लागेको थियो र उबरले पथ प्रदर्शक कुकुरसहित यात्रुहरुलाई यात्रा गराउन सबै ड्राइभरहरुलाई सचेत गराएको थियो।

TK Viber

प्रकाशित: २२ चैत्र २०७७, आईतवार

Loading...