दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँग करोडौं रुपैयाँ चन्दा माग्दै विप्लबका कार्यकर्ता

Technology Khabar २२ चैत्र २०७७, आईतवार

दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँग करोडौं रुपैयाँ चन्दा माग्दै विप्लबका कार्यकर्ता

काठमाडौं ।

अपडे‍टः २०७७ चैत २३ गतेः नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने चन्दा नमागेको बताएका छन् । उनले चन्दा माग्न नभई पत्रिकाको लागि विज्ञापन माग्न आएका जानकारी दिए ।

‘उहाँहरु आउनुभएको थियो र मलाई भेट्नुभयो । उहाँहरुले विप्लवको नामसहितको पत्रिका छाप्न लाग्नुभएको रहेछ र त्यसको लागि विज्ञापन माग गर्नुभएको हो । चन्दा मागेको होईन्,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।

प्रबन्ध निर्देशक अधिकारीकाअनुसार उनीहरु सामान्य प्रकृयामा भेट गर्न आएका थिए।

पछिल्लो समय सम्झौता प्रकृयापछि खुला राजनीतिमा आएको नेत्र बिक्रम चन्द (विप्लब)को दलले दूरसञ्चार क्षेत्रका नियामक निकाय र कम्पनीहरुमा चन्दा माग गरिरहेको खुलासा भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा खुला राजनीतिमा आएको विप्लब समूहले दूरसञ्चार क्षेत्रको नियामक निकायसँग नै चन्दा माग गरेको खुलासा भएको हो।

विप्लबका कार्यकर्ताहरुले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकममा गएर सिधै करोडौं रुपैयाँ चन्दा माग गरेको स्रोतहरुले बताएका छन् । तर उनीहरुले चन्दा माग गर्नका लागि कुनै पत्र नबुझाएको र मौखिकरुपमा नेतृत्वलाई भेटेर नै चन्दा माग गरेका हुन्।

प्राधिकरणमा केहि साता अघि विप्लबका ३/४ जना कार्यकर्ताहरु गएर अध्यक्ष पुरुषोत्तम खनालसँग भेट गरेका थिए भने सो क्रममा नै उनीहरुले ५ करोड रुपैयाँ चन्दा माग गरेका थिए।

‘विप्लबका कार्यकर्ताहरु अध्यक्ष ज्यूलाई भेट्न समय नै लिएर आएका थिए र उनीहरुले प्राधिकरणसँग धेरै योजनाहरु छन् भनेर पार्टिलाई सहयोग गर्न भन्दै ५ करोड रुपैयाँ चन्दा माग गरेका थिए,’ स्रोतले भन्यो।

उनीहरुले प्राधिकरणले अर्बौं रुपैयाँका परियोजनाहरुमा काम गरिरहेको र प्राधिकरणको बजेट देखेर नै आएको हुनसक्ने स्रोतको दाबी छ।

त्यसैगरि प्राधिकरणमा भन्दा पहिले नै विप्लबका कार्यकर्ताहरुले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई भेटेर समेत चन्दा माग गरेका थिए।

उनीहरुले नेपाल टेलिकमसँग करिब १० करोड रुपैयाँ चन्दा माग गरेको स्रोतले जानकारी दिएको छ।

‘विप्लबका कार्यकर्ताहरु समूहमा नै आएका थिए र प्रबन्ध निर्देशक ज्यूसँग निकै बेरसम्म छलफल गरेका थिए । उनीहरुले करिब १० करोड रुपैयाँ चन्दा बापत माग गरेका छन्,’ स्रोतले दाबी गर्यो।

टेलिकम सरकारको सबैभन्दा ठूलो कम्पनी भएको र अर्बौं रकमका परियोजनाहरु सञ्चालन गरिरहेको हुँदा सोहि देखेर आएको हुनसक्ने स्रोतको अनुमान छ।

तर प्राधिकरण र टेलिकम दुबै स्थानमा आफूहरु सरकारी निकायहरु भएको तथा सबै परियोजनाहरु प्रकृयागतरुपमा हुने गरेको र चन्दा दिन नसक्ने भन्दै विप्लबका कार्यकर्ताहरुलाई पठाएको बताईएको छ।

Global Bank
easy care

प्रकाशित: २२ चैत्र २०७७, आईतवार