एप्पलको भन्दा २० गुणा बढी स्मार्टफोन प्रयोगकर्ताको डाटा गुगलले संकलन गर्नेः अध्ययन

Technology Khabar १९ चैत्र २०७७, बिहीबार

एप्पलको भन्दा २० गुणा बढी स्मार्टफोन प्रयोगकर्ताको डाटा गुगलले संकलन गर्नेः अध्ययन

काठमाडौं ।

गुगलले एन्ड्रोइड फोनबाट एप्पलको आईफोनको तुलनामा २० गुणा बढी प्रयोगकर्ताको डाटा लिने गरेको एक अध्ययनमा देखिएको छ।

ट्रिनिटी कलेज डब्लिनका कम्प्यूटर विज्ञानका प्राध्यापकले गरेको अध्ययनले एन्ड्रोइड फोनले आईफोनको तुलानामा आफ्ना प्रयोगकर्ताको २० गुणा बढी डाटा गुगललाई दिने देखाएको छ।

यस अध्ययनमा गुगलको पिक्सेल र एप्पलको आईफोनमार्फत कम्पनीहरुलाई पठाउने डाटाहरु हेरिएको आर्सटेक्निकाको रिपोर्टमा उल्लेख छ ।

अनुसन्धानकर्ता डग लेथका अनुसार दुबै आईओएस र एन्ड्रोइड फोनले प्रयोगकर्ताको डाटा संकलन गरेर एप्पल र गुगललाई पठाइरहेको हुन्छ। जसमा प्रयोगकर्ताले फोनमा सिम कार्ड राखेकोदेखि हार्डवेयर र एपहरु चलाएको सबै जानकारी समावेश हुन्छ।

यी डाटाहरु प्रयोगकर्ताले आफ्नो फोन लग नगरेको, प्राइभेसी सेटिङमा डाटा कलेक्सन अप्ट आउट भएको र ह्यान्डसेट निष्क्रिय भएको बेला संकलन हुने गरेको छ।

आईओएस फोनले प्रयोगकर्ताको आइएमइआई, हार्डवेयर सिरियल नम्बर, सिम सिरियल नम्बर, फोन नम्बर, युडिआइडी र विज्ञापन आइडी, लोकेसन, टेलमेट्री, कुकिज, स्थानीय आइपी ठेगाना र वाइफाइ म्याक ठेगाना जस्ता जानकारीहरु एप्पललाई पठाउँछ।

एन्ड्रोइड फोनले पनि यी सबै डाटाहरु सहित प्रयोगकर्ताका अन्य थुप्रै विस्तृत जानकारी गुगललाई पठाउने अनुसन्धानकर्ता डग लेथले बताएका छन्।

अझ महत्वपूर्ण भनेको एप्पलले लग इन नभएको बेलामा पनि लोकेसन ट्रयाक गर्ने गर्दछ र स्थानीय आईपी एड्रेस संकलन गर्दछ । तर गुगलले भने यी दुबै डाटा संकलन नगरेको अध्ययनमा भेटिएको थियो ।

अध्ययनअनुसार फोन स्टार्ट हुनेबित्तिकै आईफोनले आफ्नो कम्पनीलाई ४२ केबी डाटा मात्र पठाउँछ भने, एन्ड्रोइडले १ एमबी डाटा गुगललाई पठाइरहेको हुन्छ। गुगलको डाटा एप्पलको तुलनामा करिब २० गुणा बढी हो।

अमेरिकामा प्रत्येक १२ घण्टामा गुगलले आफ्ना प्रयोगकर्ताहरुबाट १.३ टेराबाइट डाटा संकलन गर्ने अनुमान गरिएको छ। तर, एप्पलले त्यही अवधिमा मात्र ५.८ जीबी डाटा प्राप्त गरेको हुन्छ।

स्मार्टफोन कम्पनीहरुले प्रयोगकर्ताको डाटा संकलन गर्ने प्रविधि खतरनाक रहेको र सबैजना यसमा सचेत हुनुपर्ने अनुसन्धानकर्ता लेथले सुझाब दिएका छन्।

गुगलले भने यो अध्ययनलाई अस्वीकार गरेको छ ।

easy care

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार