ह्वावेको नाफा सन् २०२० मा ३.२ प्रतिशतले बढेर ९ अर्ब ८६ करोड डलर

Technology Khabar १८ चैत्र २०७७, बुधबार

ह्वावेको नाफा सन् २०२० मा ३.२ प्रतिशतले बढेर ९ अर्ब ८६ करोड डलर
Classic Tech

ह्वावेले आफ्नो सन् २०२० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।

सन् २०२० मा ३.८ प्रतिशतले वृद्धि भएर समग्रमा १ खर्ब ३६ अर्ब डलरभन्दा माथिको कारोबार भएर खुद नाफा अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशतले बढेर ९ अर्ब ८६ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०१९ र २०२० मा अमेरिकी प्रतिबन्धका कारण सञ्चालनमा समस्या आएता पनि ह्वावेले लेखापरीक्षण संस्था केपीएमजीलाई आफ्ना आर्थिक गतिविधिहरुको स्वतन्त्र र वस्तुनिष्ठ तरिकाले लेखापरीक्षण गर्न आग्रह गरेको थियो।

केपीएमजीको प्रतिवेदन मान्य र कुनै तोडमोडरहित हुने भएकाले आफूहरु जस्तोसुकै परिस्थितिमा पनि पारदर्शी तरिकाले कम्पनीका सञ्चालन विवरणहरु सरकार आपूर्तिकर्ता, कर्मचारी तथा साझेदारहरुसमक्ष प्रस्तुत गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।

सन् २०२० मा ह्वावेले विश्वका १७० देशका १५०० स्थानमा नेटवर्क विस्तार गर्न सफल भयो। यसमार्फत् लाखैं मानिसहरुले स्थानीय दूरसञ्चार सेवा प्रदायकका माध्यमबाट कोरोना महामारीका बीच अनलाइन किनमेल तथा अनलाइन कक्षाको भरपूर फाइदा उठाउन सके।

यसबाहेक कम्पनीले विश्वका २० भन्दा बढी देशका क्यारियरहरुसँगको साझेदारीमा कोइला खानी, स्टील उत्पादन, बन्दरगाह तथा निर्माणलगायतका क्षेत्रमा ३००० भन्दा बढी फाइभजी इनोभेसन परियोजनाहरु सञ्चालन गर्न सफल भयो।

कम्पनीले कोरोना उपचारमा सहजताका लागि अस्पतालहरुका आर्टिफिसियल इन्टेलिजेन्सयुक्त ह्वावे क्लाउड स्थापना गरेको प्रतिवेदनमा उल्लेख छ।

‘अघिल्लो वर्षभरी हामीले प्रतिकूल अवस्थामा पनि साहसिलो तरिकाले प्रस्तुत हुन सक्याैं’, ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले भने, ‘हामीले विश्वका उपभोक्ताका लागि कोरोना महामारीसँग लड्न तथा आर्थिक सुधार र सामाजिक प्रगतिका लागि नवीन खोजहरु जारी राख्याैं। त्यस बाहेक हामीले हाम्रा सेवाहरुलाई अगाडि बढाइरह्याैं। हामी आगामी दिनहरुमा पनि  सामाजिक प्रगति, आर्थिक उन्नति तथा दिगो विकासका लागि हाम्रा उपभोक्ता तथा साझेदारहरुसँग मिलेर काम गर्नेछाैं।’

TK Viber

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

Loading...