माथिल्लो सगरमाथाको तीन जिल्ला प्रवेश गर्ने नाकामा सिसी क्यामरा जडान

Technology Khabar १६ चैत्र २०७७, सोमबार

माथिल्लो सगरमाथाको तीन जिल्ला प्रवेश गर्ने नाकामा सिसी क्यामरा जडान
Classic Tech

माथिल्लो सगरमाथाको तीन जिल्ला प्रवेश गर्ने नाकामा सुरक्षा निगरानीका लागी सिसी क्यामरा जडान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र मानेभन्ज्याङ गाउँपालिकाले संयुक्त रुपमा हर्कपुर सिमा नाकामा सिसी क्यामरा जडान गरेको हो।

सीमा नाकामा हुने अपराध नियन्त्रण र सुरक्षा व्यवस्थालाई थप कडाई गर्न सिसी क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । ओखलढुंगासहित खोटाङ, सोलुखुम्बु र उदयपुर जिल्लाको प्रवेशद्धार हर्कपुर नाकामा हुन सक्ने आपराधिक घटना न्यूनिकरण गर्न सिसी क्यामेरा जडान गरिएको छ।

क्यामराबाट सडक दुर्घटना, अपराध, सीमा नाकाबाट हुने चोरी निकासीलाई हर्कपुर प्रहरी चौकीबाट प्रहरीले प्रत्यक्ष निगरानी गर्ने ओखलढुंगा प्रहरी प्रमुख, प्रहरी नायक उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।

प्रहरी कार्यालयको प्रस्तावमा गाउँपालिकाले करिब ४ लाख ९९ हजार रुपैयाँ बराबरको लागतमा क्यामरा तथा मनिटरको ब्यवस्थापन गरिदिएको हो ।

नाकामा सिसी क्यामरा जडानपछि सडक सुरक्षा मात्रै नभएर अपराध नियन्त्रणमा समेत सघाउ पुग्ने स्थानीयवासीले अपेक्षा गरेका छन् । क्यामरा जडानपछि नाकाबाट हुनसक्ने सडक दुर्घटना तथा अन्य चोरी निकासीका घटनामा समेत कमी आउने स्थानीय शंकर श्रेष्ठले बताए ।

सडक सुरक्षा र अपराध नियन्त्रण गर्ने जिम्मा नेपाल प्रहरीको मात्रै नभएर यसको जिम्मेवारी आफुहरुको समेत भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष मोतीराज राईले दुई जिल्लाको सिमानाका आफ्नो स्थानीय तहभित्र परेकाले यसको सुरक्षा जिम्मेवारी आफुहरुको समेत भएको बताए ।

गाउँपालिकाले उपलव्ध गराएको सिसी क्यामेरा हलेसी सोलार मिनीग्रेड प्रालिले निशुल्क जडान गरिदिएको हो । सीमा नाकाका विभिन्न चार स्थानमा जडान गरिएको क्यामेरालाई बिग्रिएको अवस्थामा गाउँपालिकाले मर्मत गर्ने सर्तसहित जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरि सञ्चालन गरिएको छ ।

TK Viber

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

Loading...