साझा यातायातको विद्युतीय बस खरिद प्रक्रिया सुरु

Technology Khabar १५ चैत्र २०७७, आईतवार

साझा यातायातको विद्युतीय बस खरिद प्रक्रिया सुरु

काठमाडौं ।

विद्युतीय बस खरिद प्रक्रिया सुरु भएको छ । साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि विश्वव्यापी बोलपत्र गरेपछि प्रक्रिया सुरु भएको हो । साझाले शुक्रबार ४५ दिने बोलपत्र जारी गरी प्रक्रिया अघि बढाएको हो ।

नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिदका लागि बोलपत्र आह्वान गरिएको साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए। उनका अनुसार ४५ दिनपछि प्रस्तावहरूको मूल्याङ्कन गरी छिट्टै सम्झौता गरिने छ ।

करिब छ/सात महिना बस निर्माण गर्न लाग्ने छ । ढुवानीलगायतको समय राख्दा एक वर्षभित्र बस सञ्चालन गर्न सकिने साझा यातायातले जनाएको छ ।

२०७५ पुसमा तीन सयवटा विद्युुतीय बस सरकारी लगानीमा किन्ने निर्णय भएको थियो । साझाले स्पेसिफिकेसन बनाउँदै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ असोज १ गते बस खरिद प्रक्रिया रोकेको थियो ।

साझा यातायातको बैङ्क खातामा सरकारले पठाएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय भएको थियो तर २०७७ फागुनमा मन्त्रालयले साझालाई नै काम अघि बढाउन पत्राचार गरेको थियो ।

साझा यातायातले दुुई वर्षअघि जुन बिन्दुमा काम रोकिएको थियो, त्यहीँबाट सुचारु गरेको छ । पहिलो चारणमा ४० वटा बस ल्याउने तयारी छ । जुन बसहरू परीक्षणका लागि पनि सञ्चालन गरिने छ ।

इन्धनको बचत र वातावरणमैत्री भएकाले सरकारले विद्युतीय सवारी साधन प्रोत्साहनको नीति लिएको छ । तीन वर्षअघि सरकार आफैँले विद्युतीय बस खरिद गर्ने योजना बनाएको थियो । वार्षिक बजेटमै विद्युतीय बसलाई प्राथमिकता दिनुका साथै सन् २०२० सम्म विद्युतीय सवारी २० प्रतिशत पुर्याउने घोषणा गरिएको थियो ।

विद्युतीय सवारी साधन ध्वनि र धुवाँमुक्त हुन्छ । जसले गर्दा वातावरण र मानिसको स्वास्थ्यका लागि उपयुक्त हुन्छ । वातावरणमैत्री हुन्छ । इन्धन बचतका हिसाबले पनि यो पेट्रोल, डिजेलको उपयुक्त विकल्प हो । इन्धनबाट चल्ने गाडीले ३५ सय देखि चार हजार रुपियाँसम्मको इन्धन खर्च गर्दा विद्युतीय गाडीले सात सय रुपियाँको विद्युत खर्च गर्छ । गोरखापत्रबाट

Global Bank
easy care

प्रकाशित: १५ चैत्र २०७७, आईतवार

ताजा समाचार