होली खेल्दा आफ्नो मोबाइललाई पानी र रंगबाट बचाउने सरल तरिका

Technology Khabar १५ चैत्र २०७७, आईतवार

होली खेल्दा आफ्नो मोबाइललाई पानी र रंगबाट बचाउने सरल तरिका

काठमाडौं ।

फागु पूर्णिमा अर्थात होली पर्व । यो दिनलाई रंगहरुको उत्सव भने चिनिन्छ । जसमा रंग र पानीको निकै प्रयोग हुने गर्दछ । तर होली खेल्दा आफ्नो महत्वपूर्ण डिभाइस/मोबाइल फोन वान स्मार्टफोनलाई कसरी बचाउने भन्ने चिन्ता सबैलाई हुन्छ ।

होली खेल्दै फोटो तथा भिडियो बनाउने चाहनेहरु अधिकांश हुन्छन तर त्यसको सुरक्षा गर्न सकिएन भने पानी पसेर समस्या दिन्छ । होलीमा रङ तथा पानीसँग खेलेर रमाइलो गर्ने क्रममा मोबाइलमा रङ, अबिर, तथा तरलपदार्थ पसेमा समस्या हुन सक्छ ।

पहिलो त पानी पसिहाले पनि सुरक्षाका उपाय अपनाई मोबाइलमा हुन सक्ने खराबी केही हदसम्म घटाउन सकिन्छ । होली खेल्दा मोबाइल, ट्याब्लेटलगायत उपकरण बचाउने सरल उपायहरुको अबलम्बन गरेर सुरक्षित हुन सकिन्छ ।

जीपर व्याग वा वाटर प्रुफ ब्याग

होली मनाउँदा मोबाइललगायत साधनको सुरक्षाका लागि प्लाष्टिक ब्यागको प्रयोग गर्नु बेश हुन्छ । बजारमा पाइने जीपर ब्याग यसका लागि निकै उपयुक्त हुन्छ । यो उपलब्ध नभएमा सहजै घर घरमा पाइने पोलिथिन ब्यागको प्रयोग गर्न पनि सकिन्छ । अहिले बजारमा फोनकै लागि युनिभर्सल वाटर प्रूफ प्लाष्टिक ब्याग पनि उपलब्ध छन् ।

वाटर प्रुफ कभर

महँगो मोबाइलमा वाटरप्रुफ कभर हुने गर्दछ । मोबाइल एसेसरिज पसलहरूमा गएर आफ्नो मोबाइलमा उपयोगी वाटरप्रुफ कभर लगाउन सकिन्छ । कम मूल्यमा पाईने यस्ता एसेसरिजले महंगो मोबाइलको सुरक्षा गर्न सक्छ।

बेलुनबाट रबर कोटिङ

मोबाइललाई बेलुनले बेरेर पनि सुरक्षित गर्न सकिन्छ । यसका लागि शुरूमा बेलुनमा हावा भर्ने । त्यसपछि बेलुनको माथि मोबाइल राखेर विस्तारै थिच्दै जाने । बेलुन नफुट्ने गरी विस्तारै थिच्दै जाने र हावा पनि फुस्काउँदै जाने । यस्तो गर्दा अन्त्यमा मोबाइलको स्क्रिनबाहेक सबै भाग बेलुनले छोपिन्छ । यसले तपाईँको मोबाइलमा पानी वा रंग पस्ने संभावना कम हुन्छ ।

ब्लुटुथ वा एयरफोनको प्रयोग

होलीमा रङ, लोला, पिचकारीबाट पानी छ्यापिने हुँदा मोबाइललाई गोजीबाट बाहिर ननिकाल्नु नै राम्रो हुन्छ । ब्लुटुथ वा एयरफोनको प्रयोग गर्दा मोबाइलमा पानी पस्ने सम्भावना कम हुन्छ । अन्य बेला यी सामग्री बोक्न झ्याउ लाग्ने भए पनि होलीमा साथै लिएर प्रयोग गर्दा पानी, रङलगायतबाट बच्न सकिन्छ । प्लाष्टिकले मोबाइललाई बेरेर ब्लुटुथ वा एयरफोन प्रयोग गरे अझ सुरक्षित हुन्छ।

यी उपायहरु अपनाउँदा तपाईँको मोबाइल फोनलाई पानी तथा रंगबाट बचाउन सकिन्छ । तर कहिलेकाँही सुरक्षाका उपायहरु प्रयोग गर्दा गर्दै पनि पानी पस्ने वा रंग लाग्ने संभावना हुन्छ । त्यसको लागि पनि तपाईँले पहिले नै संभावित जोखिम भएमा कम हानी हुने उपायहरुको बारेमा थाहा पाएमा उपयुक्त हुन्छ ।

फोनमा पानी पसे के गर्ने ?

फोनमा पानी भित्रैसम्म पसेको वा पानीमै खसेको छ भने सबैभन्दा पहिले फोन स्विचअफ गर्नुहोस् । यसपछि छुट्याउन वा झिक्न सकिने उपकरणहरु जस्तै– कभर, ब्याट्रीलगायतलाई फोनबाट निकालेर राम्ररी सुकाउनुहोस् । ती सामान पूर्णरूपमा सुकेपछि पुनः फोनमा राखेर चलाउनुहोस् । यसो गर्दा फोनले काम गर्न पनि सक्छ । फोनका सामग्री छिटो सुकाउने नाममा हेयर ड्रायर, भ्याकुम क्लिनर हिटरलगायत विद्युतीय उपकरणको प्रयोग गर्दै नगर्नुस्।

चामलमा राख्नुहोस्

फोनमा थोरै मात्र पानी पसेको छ भने फोनलाई सक्दो चाँडो स्विचअफ गर्नुपर्छ । यसो गरेपछि केही समयका लागि फोनलाई चामलमा राख्नुपर्छ । यदि फोनको भित्रसम्म पानी पसेको छैन भने त्यसलाई चामलले सजिलै सोसिदिन्छ । बिर्सेर पनि फोनलाई पाउडरमा हाल्नु हुँदैन । यसो गर्दा पानी सोसिने सम्भावना रहे पनि पाउडर फोन भित्रसम्म गएर भरिन सक्छ । यसले गर्दा फोनको स्पिकरलगायत अन्य साना उपकरणमा असर पुग्छ ।

वारेन्टीमा सचेत हुनुहोस्

मोबाइल फोन कहिलेपनि आफैं नखोल्नुस। यसो गर्दा फोन बिग्रने सम्भावना बढ्नुका साथै खरीद गर्दा पाएको वारेण्टी सुविधासमेत व्यर्थ हुन्छ । वारेण्टी अवधि बाँकी भए सम्बन्धित कम्पनीको अधिकृत सर्भिस सेन्टरमा लगेर देखाउनुस। वारेन्टी छैन भने राम्रो प्राविधिक वा मर्मत केन्द्रमा देखाउन पनि सकिन्छ । पानीका कारण ब्याट्री फुलेको भए यसको प्रयोग नगर्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: १५ चैत्र २०७७, आईतवार

ताजा समाचार