जाजरकोटका तीनवटा दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिए

Technology Khabar १४ चैत्र २०७७, शनिबार

जाजरकोटका तीनवटा दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिए
सांकेतिक
Classic Tech

जाजरकोटका तीनवटा दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले ‘टुजी’ र ‘फोरजी’ सहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाँउपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् ।

टेलिफोन सुविधाबाट वञ्चित ती गाउँपालिकामा टेलिकमले टावर निर्माण गरी सेवा प्रारम्भ गरेपछि स्थानीय बासिन्दाले सहज रूपमा सञ्चार सुविधा पाएका छन् । जिल्लामा निर्माणाधीन सातवटा नमस्तेको टावरमध्ये जुनीचाँदे र शिवालय गाउँपालिकामा केही दिनअघि तथा बारेकोट गाँउपालिकामा बिहीबारदेखि सो सेवा सञ्चालनमा आएको हो ।

टावर निर्माणसँगै बारेकोट गाउँपालिकाका सबै वडा, जुनीचाँदेका सबै वडा, शिवालय गाउँपालिकाका सबै वडा र छेडागाड नगरपालिकाका केही वडामा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि सञ्चार सुविधा पुगेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

यसअघि टावर नहुँदा टेलिफोन गर्न निकै समस्या झेल्नुपरेको थियो । बारेकोट गाउँपालिका–४ का वडाध्यक्ष सिर्जना बस्नेतले एक कल फोन गर्न घण्टौं टाढा जानुपर्ने बाध्यता अब हटेको बताए ।

बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले टेलिफोनको टावर जडान गरी गाउँपालिकामा सहज सञ्चार सुविधा पुर्याउन पहल गर्ने सबैलाई धन्यवाद दिए । टुजी सञ्चालनमा आएपछि अब बारेकोटमा छिट्टै फोरजी सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

स्थानीय बासिन्दा, गाउँपालिका, प्रशासन र राजनीतिक दल तथा नेताहरूको निरन्तरको प्रयासपछि तत्कालीन वन तथा वातावरणमन्त्री तथा जाजरकोटका सङ्घीय सांसद शक्तिबहादुर बस्नेतले १० जिल्लाको काम एकैपटक नगरेर अलग अलग गरेर छिटो काम सक्न पहल गरेका थिए।

निर्माण हुने टावरका काम ढिला हुने भएकाले जाजरकोटको कामलाई अलग गरेर काम सुरु गरिएको शाहले जानकारी दिए।

जनताको गुनासोपछि प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहले टेलिकमको केन्द्रीय कार्यालयमै गएर सरोकारवालाहरूको बैठक बसाली उक्त सेवाबारे ध्यानाकर्षण गराइएको र अहिले सो कामले पनि पूर्णता पाएको बताए।

नलगाड नगरपालिका–८, गराइलामा अहिले टावर निर्माणको कार्य जारी रहेको छ । त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माण गर्न सर्भेको काम भएको छ । गोरखापत्रबाट

TK Viber

प्रकाशित: १४ चैत्र २०७७, शनिबार

Loading...