Technology Khabar १४ चैत्र २०७७, शनिबार
शाओमी नेपालले एकैदिन चार वटा विभिन्न मोडलका स्मार्ट टिभी सार्वजनिक गरेको छ। यसका साथै कम्पनीले नेपाली बजारमा शाओमीको ट्रिमरका साथै पोर्टेबल स्पीकर पनि सार्वजनिक गरेको छ।
शाओमीले शुक्रबार ब्लगर्स मिट गर्दै ६५ इन्चको फोर एक्स, फोर ए होराइजन एडिसन, फोर ए ३२ र ४० इन्च टिभी नेपाली बजारमा भित्र्याएको हो।
कम्पनीले नेपाली बजारमा स्मार्ट टिभी सेगमेन्टलाई ससक्त पार्न र ग्राहकहरुलाई सूपथ मूल्यमा एन्ड्रोइड स्मार्ट टिभीहरु ल्याएको शाओमी नेपालका कन्ट्री म्यानेजर सौरभ कोठारीले बताए।
यी टिभीहरु फूल एचडी स्क्रीन, एन्ड्रोयड ९ मा आधारित तथा गूगल असिस्टेन्टसहित उपलब्ध छन् ।
शाओमीले प्रिमियम सेगमेन्टको ६५ इन्चको एमआइ फोर एक्सको मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ तोकेको छ भने एमआइ फोर ए होराइजन एडिसनको ४६ हजार ९९९, एमआइ फोर ए ४० इन्चको ३७ हजार ९९९ रुपैयाँ एमआइ फोर ए ३२ इन्चको ३४ हजार ९९९ रुपैयाँ तोकेको छ।
यसअघि देखि नै एमआइले नेपाली बजारमा एमआइको फोर ए प्रो र फोर एक्स मोडलका टिभी पनि बेचिरहेको छ। जुन पछिल्लो समय निकै रुचाइएको टिभी ब्राण्ड हुन्। एमआइले फोर ए प्रो ४३ इन्च टिभी ४४ हजार ९९९ रुपैयाँ र एमआइ फोर एक्स ५५ इन्च टिभीको ७४ हजार ९९९ रुपैयाँमा बिक्री गरिरहेको छ।
कम्पनीले यी टिभीहरु नेपालभर उपलब्ध हुने र अनलाइनमा समेत उपलब्ध हुने जनाएको छ ।
यस बाहेक कम्पनीले पहिलोपटक शाओमीको एमआई बियर्ड ट्रिमर वान सी सार्वजनिक गरेको छ । यसलाई कम्पनीले १,७९९ रुपैयाँमा सार्वजनिक गरेको हो ।
शाओमीले पोर्टेबल ब्लूटूथ स्पीकर पनि बजारमा ल्याएको छ । यसको मूल्य कम्पनीले २,३९९ रुपैयाँ तोकेको छ।
प्रकाशित: १४ चैत्र २०७७, शनिबार