टेलिकमले प्रतिशेयर ४० रुपैयाँ लाभांश बाँड्ने

Technology Khabar १३ चैत्र २०७७, शुक्रबार

टेलिकमले प्रतिशेयर ४० रुपैयाँ लाभांश बाँड्ने

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । आज सम्पन्न तेह्रौँ वार्षिक साधारणसभामा उक्त प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रुपमा अम्बिका प्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित भएको घोषणालाई पनि अनुमोदन गरेको छ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कम्पनीले तुलनात्मक रुपमा लाभ नहुने विकट क्षेत्रमा समेत स्याटेलाइट र अन्य प्रविधिको माध्यमबाट सेवा उपलब्ध गराइरहेको बताए।

उनले लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शत प्रतिशत बोनस, जिरो व्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट रु. १० करोड र कर्मचारीको तर्फबाट रू. २ करोड गरी जम्मा १२ करोड योगदान गरेको साथै आर्थिक वर्ष २०७६-७७ मा कर तथा गैह्रकर वापत सरकारी राजस्वमा रू.३५ अर्ब ५ करोड बुझाएको पनि जानकारी दिए।

यसबाहेक उनले २०७६-७७ को अन्तसम्ममा भ्वाइस सेवाको ग्राहक आधार करिब २ करोड पुगेको साथै इन्टरनेट सेवाको ग्राहक आधार ९.९३ प्रतिशतले वृद्धि भई करिब १ करोड ५० लाख पुगेको आँकडा पनि प्रस्तुत गरे।

कार्यक्रममा उनले कम्पनी विगतमा जस्तै समीक्षा अवधिमा भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सामा अग्रस्थान कायम गर्न सफल भएको साथै कम्पनीको भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सा क्रमशः ५२.६९ र ४८.६८ प्रतिशत पुगेको पनि जानकारी दिए।

थुप्रै जोखिम भए पनि आर्थिक वर्ष २०७६-७७ मा कुल राजस्व र खुद नाफा क्रमशः रू. ४२ अर्ब ९९ करोड र रू. ९ अर्ब ७५ करोड कायम गर्न कम्पनी सफल भएको बताउँदै उनले सेवाको गुणस्तर स्तरोन्नति तथा प्रतिस्पर्धी मूल्यमा सेवा प्रवाह गर्न सदैव तत्पर रहेको बताए।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले शेयरधनीहरुले उठाएका विषयहरुमाथि प्रष्ट पारेका थिए ।

easy care

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार