स्टिभ जब्सले जागिरका लागि हातले लेखेको आवेदन २ लाख २२ हजार डलरमा बिक्री

Technology Khabar १३ चैत्र २०७७, शुक्रबार

स्टिभ जब्सले जागिरका लागि हातले लेखेको आवेदन २ लाख २२ हजार डलरमा बिक्री
Classic Tech

स्टिभ जब्सले सन् १९७३ मा हातले लेखेको जागिरको आवेदन २ लाख २२ हजार डलरमा बिक्री भएको छ।

बेलायतको चार्टरफिल्ड्सले गरेको उक्त लिलाम बढाबढ गएको फेब्रुअरीमा सुरु भएर मार्च २४ तारिखमा बन्द भएको थियो।

हातले लेखिएको एक पेजको उक्त आवेदन जब्सले ओरेगनको पोर्टल्याण्डमा रहेको रीड्स कलेज छोडेपछि जागिरका लागि लेखेको पहिलो निवेदन मानिन्छ।

यो आवेदन ठूलो मूल्यमा बिक्री भएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१८ मा एउटा टेक फर्मले ठूलो रकम तिरेर यसलाई किनेको थियो।

यो आवेदन एप्पलका सह संस्थापक तथा पूर्व प्रमुख कार्यकारी जब्सले सन् १९७४ मा अटारी कम्पनीमा काम सुरु गर्नुभन्दा एक वर्ष अगाडि लेखेको मानिएको छ।

आवेदनमा जब्सले आफ्नो मुख्य विषय अङ्ग्रेजी साहित्य रहेको र यस बाहेक आफूमा क्याल्कुलेटर र कम्प्युटर डिजाइन प्राविधिकको दक्षता रहेको उल्लेख गरिएको छ।

लिलामीका लागि राखेको चार्टरफिल्ड्सले उक्त निवेदनका बारेमा यसरी वर्णन गरेको छ:

  • स्टिभ जब्सद्वारा सन् १९७३ मा लेखेको र हस्ताक्षरसहितको जागिरको आवेदन लिलामीमा छ।
  • उक्त प्रश्नावलीमा स्टिभ जब्सले आफ्नो अनुभव ‘कम्प्युटर तथा क्याल्कुलेटर’ का क्षेत्रमा भएको तथा विशेष दक्षता ‘इलेक्ट्रोनिक प्राविधि वा डिजाइन इन्जिनीयर-डिजिटल’ लेखेका छन्।
  • प्रश्नावली उनले पोर्टल्याण्डको रीड कलेज नटुङ्ग्याइ छोडेको ताका भरिएको विश्वास गरिन्छ।
  • त्यसको एक वर्षपछि उनले अटारीमा प्राविधिकका रुपमा काम सुरु गरे र सन् १९७६ मा एप्पलको स्थापना गर्दाका साझेदार स्टिभ वोज्नियाकसँग काम गरे।
  • उक्त आवेदन पट्याइएको, कतै हल्का दाग लागेको र माथिपट्टिको छेउमा पुरानो टेप लगाइएको राम्रो अवस्थामा रहेको छ। योसँगै यसको आधिकारिकताका प्रमाणपत्र तथा पत्रहरु रहेका छन्।
TK Viber

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

Loading...