वनवेबद्वारा आज एकैपटक ३६ स्याटेलाइट प्रक्षेपण

Technology Khabar १२ चैत्र २०७७, बिहीबार

वनवेबद्वारा आज एकैपटक ३६ स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

वनवेबले आज एकै पटक ३६ ओटा स्याटेलाइट प्रक्षेपण गरेको छ। यो सँगै अन्तरिक्षमा वनवेबको स्याटेलाइट सङ्ख्या १४६ पुगेको छ।

रुसको सुदूरपूर्वी इलाकामा रहेको लञ्चप्याडबाट ती स्याटेलाइटहरु सोयुज रकेटमार्फत् प्रक्षेपण गरिएका हुन्। यी थपिएका स्याटेलाइटहरुमार्फत् कम्पनीले अन्तरिक्षबाट दिने भनिएको ब्रोडब्याण्ड इन्टरनेट सेवा थप परीक्षण गर्न इन्जिनियरहरुलाई सघाउ पुर्याउने बताइएको छ।

गत वर्ष टाट पल्टिएको वनवेब भारतको भारती ग्लोबल तथा बेलायतको सरकारले संयुक्त रुपमा खरिद गरेर चलाइरहेका छन्।

वनवेबको नयाँ व्यवस्थापनले यसै वर्षको हिउँदसम्ममा बेलायत, उत्तरी यूरोप, अलास्का, क्यानडा, ग्रीनल्याण्ड, आइसल्याण्ड तथा आर्कटिक समुद्री क्षेत्रमा व्यावसायिक ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

‘हामीकहाँ ५ देखि ५० डिग्री अक्षांश भएका ठाउँहरु छन्। बेलायतको दक्षिणी क्षेत्रदेखि उत्तरी ध्रुवसम्म कभरेजका लागि यी पाँच प्रक्षेपणहरु जरुरी थियो’, कम्पनीका प्रमुख कार्यकारी नील मास्टरसनले भने।

उनका अनुसार कम्पनीले अर्को वर्षभित्र विश्वभरी नै सेवा विस्तार गर्नेछ।

उनले बेलायती सञ्चारमाध्यम बीबीसीलाई यसै वर्षको जुन महिनासम्म आफूहरुले अन्य प्रक्षेपण गरिसक्ने पनि बताए। यसबाहेक उनले यसै वर्षभित्र लगभग ८ देखि १० वटा प्रक्षेपण गर्ने जानकारी दिए।

easy care

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार