मोबाइल इन्टरनेट स्पीडमा नेपालले छलाङ्ग मार्यो, फिक्स्ड ब्रोडब्याण्डको गति भने खस्कियो

Technology Khabar १० चैत्र २०७७, मंगलवार

मोबाइल इन्टरनेट स्पीडमा नेपालले छलाङ्ग मार्यो, फिक्स्ड ब्रोडब्याण्डको गति भने खस्कियो
Classic Tech

नेपालले आफ्नो मोबाइल इन्टरनेट स्पीडमा छलाङ्ग मारेको छ । नेपालको मोबाइल इन्टरनेटको स्पीड गएको फेब्रुअरी महिनामा ह्वात्तै माथि आएको स्पीडटेस्टको तथ्यांकले देखाएको छ।

विश्वभर इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाकाअनुसार विश्वभरका १४१ देशहरुको मोबाइल इन्टरनेटको स्पीडको मासिक परीक्षण तथ्यांकअनुसार नेपाल एकैपटक ९६ औं स्थानमा उक्लिएको हो।

दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडि माल्दिभ्स रहेको छ।

नेपालले भने जनवरीको तुलनामा १८ औं स्थान उक्लिएर ९६ औं स्थानमा पुगेको हो ।

तथ्यांकअनुसार नेपालमा मोबाइल इन्टरनेटको स्पीड फेब्रुअरी महिनामा २१.२८ एमबीपीएस रहेको देखिन्छ ।

नेपाल भन्दा धेरै अगाडि रहेको माल्दिभ्स ४६.७० एमबीपीएसको स्पीडसहित ४३ औं स्थानमा रहेको छ । नेपाल भन्दा धेरै पछाडि रहेका दक्षिण एशियाली मुलुकहरुमध्ये पाकिस्तान ११२ औं स्थानमा रहेको छ जहाँ मोबाइलको इन्टरनेट स्पीड १७.७३ एमबीपीएस रहेको छ । त्यसपछि श्रीलंका, भारत, बंगलादेश र अफगानिस्तान रहेको छ ।

बंगलादेश इन्टरनेट स्पीडको सूचीमा अन्तिमतर्फबाट छैटौं नम्बरमा छ भने भारत ११ औं नम्बरमा परेको छ । अन्तिमतर्फबाट अफगानिस्तान दोस्रो स्थानमा रहेको छ जहाँ ६.५२ एमबीपीएसको इन्टरनेट रहेको छ।

सबैभन्दा फास्ट मोबाइल इन्टरनेट स्पीड हुने देशमा यूएई रहेको छ जहाँ १७७.१६ एमबीपीएसको स्पीड प्राप्त हुने गर्दछ । त्यसपछि भने कतार रहेको छ जहाँ १७१.१५ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट चलाउन सकिन्छ ।

नेपालले आफ्नो मोबाइल इन्टरनेटमा सुधार गरेपनि अझै ग्लोबल औसत स्पीडमा भने पुग्न सकेको छैन् । तथ्यांकअनुसार विश्वभर औसत डाउनलोड गति मोबाइल इन्टरनेटमा ४६.९४ एमबीपीएस रहेको छ ।

नेपालले मोबाइल इन्टरनेटको गतिमा छर्लांग मारेपनि फिक्स्ड ब्रोडब्याण्डको गति भने निकै सुस्त रहेको देखिन्छ ।

ओक्लाको तथ्यांकअनुसार नेपालमा औसत फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पीड २५.४२ एमबीपीएस रहेको छ । जसअनुसार नेपाल ११४ औं स्थानमा रहेको छ । यसअघि गत जनवरीमा नेपाल एक अंक माथि रहेको थियो भने फेब्रुअरीमा फिक्स्ड इन्टरनेटको स्पीडको अवस्था खस्किएको छ ।

फिक्स्ड इन्टरनेट स्पीडमा भने दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाल मध्यम स्तरमा रहेको देखिन्छ । नेपाल भन्दा निकै माथि ६३ औं स्थानमा भारत छ भने त्यसपछि बंगलादेश र श्रीलंका क्रमश रहेका छन् । नेपाल भन्दा कमजोर फिक्स्ड इन्टरनेट स्पीड हुनेमा भुटान, माल्दिप्स, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

TK Viber

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

Loading...