एनएमबि बैंकद्वारा गैंडाकोट एग्रोमार्टमा क्यूआर कोड भुक्तानी सेवा सुरु

Technology Khabar ८ चैत्र २०७७, आईतवार

एनएमबि बैंकद्वारा गैंडाकोट एग्रोमार्टमा क्यूआर कोड भुक्तानी सेवा सुरु
Classic Tech

नवलपरासीको गैंडाकोट नगरपालिका–४ स्थित एनएमवि बैंक गैंडाकोट शाखाबाट गैंडाकोट एग्रोमार्ट प्रालि द्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

गैडाकोट वडा नं. ४ का वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा हिजो शनिबार कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा एनएमबि बैंक गण्डकी प्रदेशका एरिया म्यानेजर अमृत राज बास्तोलाले क्यूआर कोडबाट कारोबार गर्दा हुने फाइदा र यसको विकासका लागि नेपाल राष्ट्र वैंकले ल्याएको नीतिका बारेमा प्रकाश पारेका थिए। उनले देशको कुनाकाप्चामा पनि यसबाट कारोबार गर्नका लागि एनएमबि बैंकले पहल गरेको र यसबाट कारोबार गर्न आवश्यक पर्ने सहयोग गर्न बैंक सदैव तत्पर रहेको जानकारी दिए।

कार्यक्रममा गैंडाकोट एग्रोमार्टका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोबार गर्दा हुने जोखिम र विद्युतीय कारोबारले यसलाई कम गर्न सक्नेबारेमा बोलेका थिए।

कार्यक्रममा गैडाकोट एग्रोमार्टद्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीलाई आमन्त्रण गरिएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरुबाट ३७ वटा पसलका व्यापारीहरुलाई क्यूआर कोड वितरण गरिएको बैंकले जानकारी दिएको छ।

TK Viber

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

Loading...