Technology Khabar ७ चैत्र २०७७, शनिबार
काठमाडौं ।
पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्युआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो।
शनिबार सौराहामा एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गरे।
योसँगै सौराहाका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकहरुलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।
कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए। उनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शीता कायम हुने बताए।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्ने बताए। कार्ड लगायतका भुक्तानीले वर्षेनी अर्बौ रुपैयाँ विदेशीने गरेको बताउदै क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफुहरुले प्राथमिकतामा राखेको बताए।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि बृद्धि हुने बताए ।
उनले व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए।
कार्यक्रममा बैंक तथा फोनपेका तर्फबाट संचालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो।
प्रकाशित: ७ चैत्र २०७७, शनिबार