फाइभजी सेवाको परीक्षण नेपाल टेलिकमले मात्र गर्न पाउने, अन्य टेलिकम अपरेटरहरुलाई निषेध !

Technology Khabar ६ चैत्र २०७७, शुक्रबार

फाइभजी सेवाको परीक्षण नेपाल टेलिकमले मात्र गर्न पाउने, अन्य टेलिकम अपरेटरहरुलाई निषेध !

काठमाडौं ।

सरकारले नेपाल टेलिकमलाई मात्र फाइभजी सेवाको परीक्षणका लागि अनुमति दिने निर्णय गरेको छ।

हालै बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई मात्र फाइभजी सेवाको परीक्षणको अनुमति दिने निर्णय गरेको हो।

समितिको बैठकले प्रविधि तटस्थतामा आधारित हुँदै कुनैपनि स्पेक्ट्रममा नयाँ सेवा संचालन गर्न सकिने निर्णय गरेसँगै नेपाल टेलिकमलाई मात्र फाइभजी सेवा परीक्षणको अनुमति दिएको स्रोतले बतायो।

स्रोतकाअनुसार त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई समितिले निर्देशन समेत दिएको छ।

‘समितिले नेपाल टेलिकमलाई मात्र नेपालमा फाइभजी नेटवर्क परीक्षण गर्न दिने निर्णय गरेको छ। अन्य कम्पनीहरुको बारेमा केहि बोलेको छैन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘यसको अर्थ एनसेल वा स्मार्ट टेलिकमसहितका अन्य टेलिकम अपरेटरहरुले फाइभजी परीक्षण गर्न पाउने छैनन् ।’

यसले सरकारी कम्पनीलाई मात्र पक्षमा राखेको देखिएको र त्यसले प्रतिस्पर्धा नहुने उनको भनाई छ ।

उता सो निर्णयसहितको पत्र नेपाल दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयले हालै पठाएको छ र त्यसमा पनि फाइभजी परीक्षणको कार्य नेपाल टेलिकमलाई मात्र गर्न दिने र त्यसको लागि प्राधिकरणले आवश्यक काम गर्न निर्देशन दिईएको एक अधिकारीले बताए ।

‘हाम्रोमा भर्खर मात्रै पत्र आएको छ त्यसको बारेमा प्राधिकरण बोर्डले आवश्यक छलफल र निर्णय गर्नेछ त्यसपछि मात्र फाइभजी परीक्षणको कार्य अगाडी बढ्नेछ,’ प्राधिकरणका ती अधिकारीले भने ।

यसअघि नै सरकारले हालको फोरजी नेटवर्क बिस्तारको ठेक्का दिएसँगै नेपालका प्रमुख शहरहरुमा फाइभजी सेवाको परीक्षण गर्नुपर्ने शर्त राखेको थियो । तर हालसम्म फोरजी नेटवर्क बिस्तारको काम जारी नै रहेको छ।

उता नेपाल टेलिकम पनि फाइभजी सेवाको परीक्षणका लागि संभाव्यता अध्ययन गर्दै सेवा परीक्षण गर्नका लागि तयारी गरिरहेको छ।

कम्पनीका सह प्रवक्ता रंजित लोहियाले हाल अध्ययनको क्रममा रहेको र सरकार तथा नियामकको आदेश र अनुमतिपछि तत्काल काम अगाडि बढ्ने जानकारी दिए ।

‘हाम्रो फोरजी नेटवर्क बिस्तारकै सम्झौतामा फाइभजी परीक्षण गर्ने उल्लेख भएको हुँदा परीक्षण गर्न सकिनेछ। तर त्यसको लागि फ्रिक्वेन्सी एलोकेसन र अनुमति दिनुपर्नेछ । त्यो भएपछि हामी तिब्रगतिमा काम शुरु गर्दछौं । सह प्रवक्ता लोहियाले भने ।

फोरजी नेटवर्क बिस्तार गर्न गरिएको सम्झौतामा ह्वावे सीसीएमसी र जेडटिईले नेपालका ४ शहरहरुमा फाइभजी सेवा समेत परीक्षण गर्न निशुल्क उपकरण जडान गर्नुपर्ने उल्लेख छ।

जसमा  काठमाडौं, पोखरा, विराटनगर र बुटबलमा पहिलो चरणमा ५जी सेवा परीक्षण हुनेछ । सो अवधिमा सेवाग्राहीहरुले निशुल्क ५जीको अनुभव गर्न पाउनेछन् ।

easy care

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार