Technology Khabar ५ चैत्र २०७७, बिहीबार
काठमाडौं ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । यो सँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झञ्झटबाट समेत मुक्ति मिलेको छ ।
बुधबार पोखरामा एक कार्यक्रमका बीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एशोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरे ।
सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् भने फोनपेले इसेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रबद्र्धनमा सघाउने छन् ।
बुधवार भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरी प्रसाद भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पुर्याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको समेत बताए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने भनाई राखे । डिजिटल मुभमेण्टलाई अगाडि बढाउने विषयमा संघ प्रतिवद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्यूआर कोडलाई बढी भन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गरे ।
इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले इसेवा, फोनपे, डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग, महत्व तथा फाइदाका बारेमा जानकारी गराएका थिए । संघले संचालन गरेको जाउँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल शहरका रूपमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट पूर्ण सहयोग रहने बताए ।
प्रकाशित: ५ चैत्र २०७७, बिहीबार