इन्टरनेट सेवाको मूल्य घटाउने तयारी, सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण अध्ययन गर्दै

Technology Khabar २७ फाल्गुन २०७७, बिहीबार

इन्टरनेट सेवाको मूल्य घटाउने तयारी, सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण अध्ययन गर्दै
Classic Tech

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवालाई सस्तो र सुलभ बनाउने बारेमा अध्ययन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

मन्त्रालयले हालै इन्टरनेट सेवाको गुणस्तर बढाई मूल्य कसरी कम गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट जानकारी गराउन र नीतिगत व्यवस्थासहितको प्रस्ताव गर्न प्राधिकरणलाई निर्देशन दिएको हो।

मन्त्रालय स्रोतकाअनुसार इन्टरनेट सेवा सस्तो र गुणस्तरीय बनाउन रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमासमेत गंभिर छलफल भएको र सो बारेमा निर्णयसहित आउन प्राधिकरणलाई निर्देशन दिईएको छ।

‘हालै बसेको समितिको बैठकमा यस बारेमा छलफल भएको र सो अनुसार प्राधिकरणलाई निर्देशन दिईएको हो, यस बारेमा प्राधिकरणले ल्याउने प्रस्तावको आधारमा थप छलफल हुनेछ,’ मन्त्रालय स्रोतले टेक्नोलोजीखबरसँग भन्यो ।

यसका साथै इन्टरनेटको मूल्य दिर्घकालिनरुपमा नै सस्तो बनाउने र गुणस्तर समेत बढाउने बारेमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा समिति समेत गठन भएको छ ।

‘सचिव ज्यूको नेतृत्वमा कमिटी बनेको छ र सोहिअनुसार इन्टरनेटको मूल्य घटाउने, गुणस्तर बढाउने र सबैको पहुँचमा हुने गरि सर्वसुलभ बनाउने बारेमा अध्ययन हुँदैछ,’ मन्त्रालय स्रोतले भन्यो ।

यसअघि सञ्चार मन्त्री पार्वत गुरुङले समेत प्राधिकरणको बार्षिकोत्सवको अवसरमा इन्टरनेटको मूल्य घटाउने बारेमा छलफल भईरहेको बताएका थिए ।

त्यसैगरि उनले क्यान फेडेरेसनको कार्यक्रममा पनि इन्टरनेट महंगो र कम गुणस्तरीय भएको आरोप लगाएका थिए ।

सञ्चारमन्त्री गुरुङको आरोप- ‘इन्टरनेट सेवा महँगो र कम प्रभावकारी भयो’

मन्त्री गुरुङले पटक पटक इन्टरनेटको मूल्य र गुणस्तरको बारेमा गुनासो र गंभिर चासो राख्दै आएका छन् । उनले इन्टरनेट सेवा प्रदायकहरुलाई इन्टरनेट सेवा गुणस्तरीय नबनाएको र मूल्य महंगो भएको बताउँदै त्यसमा सुधार गर्न भन्दै आएका छन् ।

सञ्चार मन्त्री गुरुङले चेतावनी दिँदै भने- ‘इन्टरनेट सेवाको गुणस्तर निकै कमजोर छ, सुधार्नुस्’

उनकै चासो र पहलमा समितिले इन्टरनेट सेवाको गुणस्तर र मूल्यको बारेमा  समेत छलफल गरेको मन्त्रालय स्रोतले दाबी गरेको छ।

TK Viber

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

Loading...