Technology Khabar २६ फाल्गुन २०७७, बुधबार
काठमाडौं ।
वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेको छ।
यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्योति लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको छ ।
यसरी बीमा गरेपछि रोजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले बेहोर्नेछ । म्यानपावर कम्पनी र रोजगारीमा जाने व्यक्तिहरु यस्तो बीमा रकम स्वयंले गर्नुपर्छ । सामान्यतया म्यानपावर कम्पनीहरूले बीमा गर्दा सामुहिक रुपमा जीवनको बीमा गर्छन् ।
बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेको वैदेशिक रोजगार विभाग बीमामा ट्याप गरेर आफ्नो पासपोर्ट नम्बर लगायतका विवरण भर्नुपर्छ । मागेको विवरण सबै भरेपछि तोकिएको शुल्क खल्ती एपबाट भुक्तानी गर्न सकिन्छ ।
शुल्क भुक्तानी गरेपछि व्यक्तिको बीमा पोलिसी तयार हुन्छ र त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सकिनेछ । यसले वैदेशिक रोजगारीमा जानेहरूलाई निकै सहज हुने कम्पनीले जनाएको छ।
प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार