गुगल फिट एपमा थपियो हार्ट रेट तथा रेस्पिरेटरी रेट मोनिटरिङ फिचर

Technology Khabar २६ फाल्गुन २०७७, बुधबार

गुगल फिट एपमा थपियो हार्ट रेट तथा रेस्पिरेटरी रेट मोनिटरिङ फिचर

काठमाडौं ।

गुगलले आफ्नो गुगल फिट एपमा हार्ट रेट तथा रेस्पिरेटरी रेट मोनिटरिङ फिचर थपेको छ।

यी फिचरहरु तत्कालका लागि निश्चित पिक्सेल फोनहरुमा मात्र उपलब्ध हुनेछ।

यी फिचरहरुबाट प्रयोगकर्ताले कुनै विशेष उपकरणबिना नै फोनको माध्यमबाट आफ्नो मुटु तथा श्वासप्रश्वासको गति थाहा पाउन सक्नेछन्। यी दुवै फिचरहरु अगाडि र पछाडि रहेका क्यामराको माध्यमबाट थाहा पाइने बताइएको छ।

प्रयोगकर्ताले आफ्नो औंला पछाडिको क्यामरामा राखेपछि हार्ट रेट मोनिटरले काम गर्न सुरु गर्छ। यसैगरी प्रयोगकर्ताले आफ्नो श्वासप्रश्वासको गति थाहा पाउनका लागि फ्रन्ट क्यामरामा आफ्नो अनुहारसहित कम्मरसम्मको भाग देखिने गरी उभिनुपर्छ।

फ्रन्ट क्यामराले छातीको चाललाई ट्र्याक गरेर त्यसका आधारमा श्वासप्रश्वासको गति मापन गर्छ।

गुगलले यी फिचरहरु मेडिकल उद्देश्यका लागि नभएको जनाएको छ। यदि स्वास्थ्यमा खराबी आएको छ भने फोनमा राखेको एप्लिकेशनमर्फत् मुटु तथा श्वासप्रश्वासको गति थाहा पाउने कोशिसमा लाग्नुभन्दा नजिकैको अस्पताल वा स्वास्थ्य केन्द्रमा जानु बुद्धिमानी हुने उसको ठहर छ।

यसलाई भने सामान्य अवस्थामा आफ्नो मुटु तथा श्वासप्रश्वासको गति कस्तो रहेछ भन्ने थाहा पाउन मात्र प्रयोगमा ल्याउनुपर्ने गुगलको राय छ।

गुगलले यी फिचरहरु पिक्सेल डिभाइसहरुमा यसै साता उपलब्ध हुने तथा अन्य एन्ड्रोइड डिभाइसहरुमा पछि अपडेट गरिने जनाएको छ।

easy care

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार