Technology Khabar २५ फाल्गुन २०७७, मंगलवार
नेपाल टेलिकमको सञ्चालक पदका लागि लगानीकर्ता तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।
पौडेलले टेलिकमको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत टेलिकमको बारेमा आफ्नो विचार राख्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले नेपाल टेलिकमको सञ्चालक समितिमा आफ्नो उपस्थितीले टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
आगामी चैत १३ गते आयोजना हुने टेलिकमको तेह्रौं वार्षिक साधारण सभाले कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट एक संचालक सदस्यको निर्वाचन गर्दैछ ।
पौडेल सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पनि हुन् भने उनी आईएमई ग्रुपको लगानी रहेको चन्द्रागिरी हिल्सलगायत कम्पनीहरुमा समेत निर्देशक तथा लगानीकर्ताकोरुपमा आबद्द छन् ।
‘नेपाल टेलिकममा मैले संचालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यवस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालक बीच समन्वय कायम गर्दै मेरो लगानी सम्बन्धी ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’, फेसबुकमा लेख्दै लगानीकर्ता पौडेलले भने।
‘टेलिकममा नेपाल सरकार ९१.४९ प्रतिशत, सर्वसाधारण सेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको कम्पनी हो । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो । नेपाल टेलिकमले आफ्नो पुँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सहि किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबैभन्दा बढी राजश्व दिने, कर्मचारीलाई सबैभन्दा बढी बोनस दिने र लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल दिने र पुँजीबजारको सबैभन्दा उत्कृष्ट सुचिकृत कम्पनी हुन सक्ने छ’, उनले भनेका छन् ।
उनी लगानीकर्ता कम्पनी हाथवे इन्भेष्टमेन्ट नेपाल प्रालिका निर्देशक समेत हुन् ।
प्रकाशित: २५ फाल्गुन २०७७, मंगलवार