यी हुन् नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न योग्यता पुगेका कम्पनीहरु

Technology Khabar २४ फाल्गुन २०७७, सोमबार

यी हुन् नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न योग्यता पुगेका कम्पनीहरु
सांकेतिक
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट स्थापनाको लागि परामर्शदाताहरुको प्रारम्भिक छनौट गरेको छ ।

प्राधिकरणले यसअघि आवेदन दिएकामध्येबाट ५ वटा कम्पनीहरुलाई स्याटेलाइट स्थापनाको लागि परामर्शदाताहरुको रुपमा छनौट सूचीमा समावेश गरेको हो ।

सो छनौट सूचीमा यूरोकन्सल्ट(EUROCONSULT), एसथ्रीटेल इंक(S3tel Inc), स्पेस पार्टनरसिप इन्टरनेशनल एलएलसी(Space Partnership International, LLC), लण्डन इकोनोमिक्स लिमिटेड(London Economics Limited), केपिएमजी अस्युरेन्स एण्ड कन्सल्टिङ्ग सर्भिसेज एलएलपी (KPMG ASSURANCE AND CONSULTING SERVICES LLP) संस्थाहरु छनौटमा परेका छन् ।

यसअघि गएको पुस १ गते अर्थात १६ डिसेम्बर २०२० मा प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट राख्ने उद्धेश्यले त्यसको लागि नीति नियम बनाउने, सुरक्षा र व्यवसायीक मोडालिटी तथा संचालन मोडालिटी तयार पार्नेगरि परामर्शदाताहरु माग गरेको थियो ।

सो अनुसार तत्कालिन समयमा कुल ८ कम्पनीहरुले आवेदन दिएकोमा त्यसमध्ये प्रारम्भिक चरणमा ५ कम्पनीहरु छनौट भएका हुन् ।

यसअघि आवेदन दिनेमा प्राधिकरणका अनुसार चीनको बेइजिङ स्पेसको टेक्नोलोजी कम्पनी लिमिटेड, फ्रान्स पेरिसको युरोकन्सल्ट, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड र केआईएसपीई टिम (जेभी), भारत मुम्बईको केपीएमजी–एआरजीओ जेभी, अमेरिकाको स्पेस पार्टनर्सिप इन्टरनेसनल, दुबईको एसथ्री टेल आईएनसी, सिङ्गापुरको सेलेस्टिएल कन्सल्टिङ सर्भिसेज र जर्मनीको स्पेस टेक पार्टनर्स थिए ।

हाल ती कम्पनीहरुमध्ये फ्रान्सको युरोकन्सल्ट, बेलायतको लण्डन इकोनोमिक्स लिमिटेड, अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेशनल एलएलसी, दुबईको एसथ्रीटेल इंक र भारतको केपिएमजी अस्युरेन्स एण्ड कन्सल्टिङ्ग सर्भिसेज एलएलपी छनौट भएका हुन् ।

चीन जर्मनी र सिंगापुरका कम्पनीहरु भने सूचीबाट बाहिरिएका छन् ।

यी कम्पनीहरुले पेश गरेको आशयपत्रको आधारमा उनीहरुलाई छनौट गरिएको प्राधिकरणले जनाएको छ ।

अब छनौटमा परेका कम्पनीहरुले आफ्नो आर्थिक प्रस्ताव पेश गर्नुपर्नेछ । जसको आधारमा प्राधिकरणले कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई छनौट गर्नेछ ।

यसको लागि प्राधिकरणले छुट्टै आर्थिक र प्राविधिक प्रस्ताव माग गर्ने र त्यसअनुसार कम्पनी छनौट हुनेछ ।

‘हाल सूची मात्र प्रकाशित गरिएको हो । यसको लागि अब प्रत्येक कम्पनीसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरिन्छ र त्यसको आधारमा कुनै एक कम्पनी छनौट हुनेछ,’ प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने।

उनकाअनुसार यसको लागि ८० प्रतिशत प्राविधिक अनुभव र १० प्रतिशत आर्थिक प्रस्तावलाई हेरिने र त्यसैको आधारमा कुनै एक कम्पनी परामर्शदाताको रुपमा छनौट हुनेछ ।

अब यस्तो प्रस्ताव बुझाउन करिब १ महिनाको समयावधि लाग्ने बताईएको छ ।

यो पनि हेर्नुस्-

नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने प्रक्रिया अगाडि बढाईयो

TK Viber

प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार

Loading...