ल्यापटप किन्ने सोच्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुहोस्

Technology Khabar २३ फाल्गुन २०७७, आईतवार

ल्यापटप किन्ने सोच्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं ।

हिजोआज अफिसको कामदेखि स्कुल, कलेजको पढाइका लागि पनि ल्यापटप एउटा अत्यावश्यक सामग्री भइसकेको छ। यस्तोमा यदि तपाईँ ल्यापटप किन्ने सोचमा हुनुहुन्छ भने केही महत्वपूर्ण तथ्यहरुमा ध्यान पुर्याउनुपर्ने हुन्छ। यी कुराहरुमा ध्यान पुर्याउन सके आफ्नो आवश्यकता र बजेट अनुसारको ल्यापटप लिन सकिन्छ।

१. आवश्यकता हेरेर बजेट योजना गर्नुहोस्

यदि तपाईँ अफिसको काम अथवा अनलाइन क्लासका लागि ल्यापटप किन्दै हुनुहुन्छ भने ३५ देखि ४५ हजारसम्मको इन्ट्री लेभल ल्यापटप किन्न सक्नुहुन्छ।

तर कहिलेकाहीँ सेल लागेको ठाउँमा इन्ट्री लेभलभन्दा राम्रो स्पेसिफिकेशन भएका ल्यापटपहरु डिस्काउन्ट गरिएको रेटमा पाइयो भने २ ४ हजार रुपैयाँ थपेर राम्रो ल्यापटप लिनु नै उत्तम हुन्छ। ल्यापटपजस्ता सामानहरु घरीघरी किनिरहने चिज नभएकाले राम्रो सामान पाएमा केही रकम थपेर लिनु नै सही निर्णय हुन्छ।

२. के प्रयोगका लागि ल्यापटप लिने हो पक्का गर्नुहोस्

ल्यापटप लिनुअघि यसको प्रयोग के हो भन्ने कुरामा स्पष्ट हुनुपर्छ। ल्यापटपमा धेरै खालका काम गर्न सकिन्छ। अलग अलग पेशाका व्यक्तिहरुले अलग अलग तरिकाले यसलाई प्रयोग गर्दछन्। त्यसैले साथीभाई वा छिमेकीसँग कस्तो छ भन्नु भन्दा पनि आफ्नो कामको प्रकृति अनुसार कस्तोसम्म भए हुन्छ त्यसमा विचार पुर्याउनु पर्छ।

अफिसका हल्का काम तथा बच्चाबच्चीको पढाइका लागि हो भने धेरै महंगो र धेरै स्टोरेज  तथा र्याम भएको ल्यापटप जरुरी हुँदैन। कम स्टोरेज र सामान्य स्पेसिफिकेशन भएकैबाट पनि यस्ता कामहरु लिन सकिन्छ।

३. ल्यापटपको डिजाइन

हिजोआज पातलो र ठिक्कको स्क्रीन साइज भएको ल्यापटप बोक्नु फेशन जस्तै भैसकेको छ। सामान्यतया १४ इञ्चको ल्यापटप धेरै चलनचल्तीमा रहेको छ। ल्यापटप बोकेर हिँड्ने सामान भएकाले हल्का र ठिक्क साइजको हुँदा बोक्न र लिएर हिँड्न सजिलो हुन्छ।

ल्यापटप किन्ने बेलामा यसको तैल पनि याद गर्नु जरुरी हुन्छ। सामान्यतया नयाँ आएका ल्यापटपहरु हलुका र पुराना वा केही समय अघिका ल्यापटपहरु बढी तैलका हुने गर्दछन्।

४. प्रोसेसर, र्याम तथा मेमोरी

ल्यापटप किन्दा नयाँ नै प्रोसेसर भएको हुँदा धेरै राम्रो हुन्छ। उदाहरणका लागि यतिखेरका ल्यापटपमा कमसेकम इन्टेल आई ३ को १०औं जेनेरेसनको या त्यो भन्दा अझै नयाँ प्रोसेसर हुनु जरुरी छ।

त्यसबाहेक ४ जीबी र्याम र कमसेकम २५० जीबी वा त्यसभन्दा बढीको स्टोरेज भएक राम्रो हुन्छ। ल्यापटपको स्पेसिफिकेशन जति राम्रो भयो त्यसको पर्फर्मेन्स पनि त्यति नै राम्रो हुन्छ र काम गर्न पनि सहज हुन्छ।

५. डिस्प्ले तथा कनेक्टिभिटी पोर्ट

हेर्नका लागि सजिलो र आँखाका लागि पनि सहज किसिमको डिस्प्ले रोज्दा नन रिफ्लेक्टिभ डिस्प्ले भएको ल्यापटप रोज्नु उचित हुन्छ। सामान्यतया ल्यापटप स्क्रीनको रेजोल्युशन ७२० पिक्सेल वा एचडी हुनु जरुरी छ।

त्यसबाहेक उक्त ल्यापटपमा कनेक्टिभिटीका लागि कति पोर्ट छन् भन्ने पनि ध्यान दिनुपर्छ। कमसेकम एउटा टाइप ए यूएसबी पोर्ट, एउटा टाइप सी यूएसबी पोर्ट, हेडफोन ज्याक, एउटा ल्यान पोर्ट, माइक्रो एसडी कार्ड रिडर तथा एउटा एचडीएमआई पोर्ट हुनु जरुरी हुन्छ।

Global Bank
easy care

प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार

ताजा समाचार