अर्को वर्ष नेपालमा आउँदै एलन मस्कको स्टारलिंकको इन्टरनेट, अहिलै प्रिबुकिङ गर्न सकिने

Technology Khabar २१ फाल्गुन २०७७, शुक्रबार

अर्को वर्ष नेपालमा आउँदै एलन मस्कको स्टारलिंकको इन्टरनेट, अहिलै प्रिबुकिङ गर्न सकिने

काठमाडौं ।

एलन मस्कको कम्पनीले विश्वमै प्रदान गर्ने भनिएको स्टारलिङ्क स्पेस इन्टरनेट नेपालमा पनि उपलब्ध हुने भएको छ।

कम्पनीले आफ्नो वेबसाइटमार्फत् यो सेवा नेपालमा सन् २०२२ मा आउने र यसका लागि प्रि-बुकिङ चलिरहेको बताएको छ।

कम्पनीले प्रि बुकका लागि ९९ डलर अर्थात् नेपाली तोकेको छ। प्रिबुकिङमा फर्स्ट कम फर्स्ट सर्भिस अर्थात् पहिले आउनेलाई प्राथमिकतामा राख्ने व्यवस्था गरेको छ। नेपालमा कसरी र कहाँबाट सो कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउँछ भन्ने कुनै जानकारी दिएको छैन् । तर नेपालका केहि स्थानहरुमा भने सो सेवा उपलब्ध हुने र त्यसको लागि कम्पनीको वेबसाइटमा लोकेसन सर्च गरेर हेर्नुपर्नेछ । यदि वेबसाइटमा ठेगाना उपलब्ध भएमा सो स्थानको लागि प्रिबुक गर्ने पेजमा जान सकिनेछ।*

वेबसाइटमा नै सो सेवा सन् २०२२ देखि नेपालमा उपलब्ध हुने र हाल प्रिबुक गर्न सकिने जनाएको छ ।

यसरी आउने इन्टरनेटको क्षमता ३०० एमबीपीएस सम्मको हुने बताइएको छ। यो सेवा सोझै स्याटेलाइटबाट आउने भएकाले ग्रामीण तथा दुर्गम क्षेत्रका लागि उपयोगी हुने बताइएको छ।

सामान्यतया स्याटेलाइट र पृथ्वीमा रहेको एन्टेनको बीचमा दूरी धेरै हुने हुनाले इन्टरनेट स्लो हुने गर्दछ। यसका कारण डाटा ल्याटेन्सी अर्थात् डाटा लिनेदिने प्रक्रियामा ढीलाई हुन जान्छ। तर स्टारलिंकका स्याटेलाइटहरु लो अर्थ अर्बिट अर्थात पृथ्वीबाट २५० देखि २००० किलोमिटरका बीचमा हुने भएकाले कम्पनीले भने यसको डाटा ल्याटेन्सी नगण्यमात्र हुने  जनाएको छ। यी स्याटेलाइटहरु यसअघिका परम्परागत स्याटेलाइटहरुभन्दा पृथ्वीबाट ६० गुणासम्मा नजिक हुने भएकाले डाटा ल्याटेन्सीको समस्या नहुने भएको हो।

परम्पारागत स्याटेलाइटहरु पृथ्वीबाट ३६,००० किलोमिटरमा राखिने भएकाले त्यहाँबाट यति उच्चगतिको इन्टरनेट सम्भव थिएन्।

उक्त इन्टरनेट सेवा उच्च गतिको मात्र नभइ त्यसको शुल्क पनि सस्तो हुनेछ। विश्वका कम आय भएका लाखाैं मानिसहरुलाई सस्तो दरमा उच्च गतिको इन्टरनेट सेवा दिएर एलन मस्क तथा उनको कम्पनी स्पेसएक्सले विश्वको सञ्चार तथा सूचना प्रविधिमा रहेको डिजिटल डिभाइडलाई कम गर्न चाहेको बुझिन्छ।

छिमेकी मुलुक भारतमा पनि कम्पनीले यहि तरिकाले प्रिबुकिङ गरिरहेको र सेवा उपलब्ध गराउने बताईसकेको हुँदा नेपालमा पनि ढिलोचाँडो सो सेवा आउने अपेक्षा गरिएको छ ।

*हेडलाइन तथा समाचार सम्पादित

easy care

प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार