Technology Khabar १९ फाल्गुन २०७७, बुधबार
काठमाडौं ।
चिनियाँ कम्पनी डीजेआईले हालै एउटा हाइब्रिड एफपीभी (फर्स्ट पर्सन भ्यू) ड्रोन सार्वजनिक गरेको छ। यसमा फर्स्ट पर्सन पर्स्पेक्टिभ, रेसिङ ड्रोनको गति तथा तथा कस्टमर ड्रोनमा जस्तै क्यामरा प्रयोगमा सहजता जस्ता सुविधाहरु एकै डिभाइसमा दिइएको छ।
केहो एफपीभी?
एफपीभीको पूरा रुप फर्स्ट पर्सन भ्यू हो। यसको मतलब कुनै पनि ड्रोनलाई त्यससँग कनेक्ट गरिएको गगल्स लगाएर पाइलटले आफ्नै आँखाले देखेको हिसाबले (फर्स्ट पर्सन भ्यू ) ड्रोनलाई नियन्त्रण गर्नु हो।
यसको अनुभव सामान्य हिसाबले हेर्दा कुनै भीआर डिभाइसमा गेम खेलेको जस्तै हुन्छ। फरक यति हो कि भीआर गेममा सबै गेमका लागि बनाइएका दृश्य हुन्छन्। एफभीपी ड्रोन उडाउँदा भने सबै दृश्य रियलटाइमकै हुन्छन् र ड्रोनलाई सम्भावित टकराव वा दुर्घटनाबाट बच्नेगरी नियन्त्रण गर्नुपर्ने हुन्छ।
यसमा रहेको उच्च क्षमताको मोटरहरुका कारण २ सेकेन्डमा १०० किलोमिटरको गतिमा पुग्छ भने यो प्रतिघण्टा १४० किमीसम्म उड्न सक्छ। यसमा तीनवटा फ्लाइट मोड रहेका छन्: नर्मल मोड, म्यानुअल मोड र स्पोर्ट्स मोड।
यसमा कुनै पनि मोडमा उडिरहँदा आवश्यक परेको खण्डमा ब्रेक लगाउन र होभर गर्न मिल्ने सुविधा छ। त्यस बाहेक यसमा दिइएको रिटर्न टु होम फिचरले ड्रोनलाई सिधै उडाइएको ठाउँमा फर्काएर ल्याउँदछ।
यसमा रहेको एडीबी-एस रिसिभरले ड्रोन उडिरहेको क्षेत्रमा कुनै विमान वा हेलिकप्टर भए नभएको जानकारी दिन्छ।
पाइलट भ्यू हेर्नका लागि यसमा एकै पटक ८ वटासम्म गगल्स कनेक्ट गर्न सकिन्छ।
यसको मूल्य कम्पनीले १२९९ डलर तोकेको छ।
प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार