राष्ट्रिय बीमा संस्थानको दुईवटा नयाँ शाखा संचालनमा

Technology Khabar १९ फाल्गुन २०७७, बुधबार

राष्ट्रिय बीमा संस्थानको दुईवटा नयाँ शाखा संचालनमा

काठमाडौं ।

राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहिलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहिल शाखाको सोमबार काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

चाबहिल शाखाको उद्घाटन गर्दै अध्यक्ष डँगोलले चाबहिल क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकोमा आभार प्रकट गर्दै सो क्षेत्रमा बीमा व्यवसाय र साक्षरता अभियान चलाउन आग्रह गरे ।

संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बीमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताए । चाबहिलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रिय कार्यालयसम्म पुगिरहन नपर्ने उनले बताए ।

संस्थानका प्रशासन कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताए । नेपाली बीमा बजारमा आफनो हिस्सा क्रमशः बढाउदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाई थियो ।

सो अवसरमा संस्थानका नायब महाप्रबन्धक महेश रिमाल, चाबहील शाखाका प्रमुख लक्ष्मीकुमार गुप्तालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा चाबहील शाखाबाट बीमा गर्नेहरुलाई बीमालेख हस्तान्तरण गरिएको थियो ।

यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मङ्गलबार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्त रुपमा उद्घाटन गरे । मेयर थापाले संस्थानलाई स्थानीय निकायमा शाखा सञ्जाल विस्तार गर्न आग्रह गर्दै यसका लागि जनप्रतिनिधिको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा संस्थानका अध्यक्ष कँडेल, प्रशासक पाठक, संस्थानका नायब महाप्रबन्धक महेश रिमाल, सूर्यविनायक शाखा प्रमुख दिलकुमार लामालगायतको उपस्थिति रहेको थियो ।

संस्थानको काठमाडौंको कलंकीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिटै कारोबार शुरु हुन लागेको संस्थानले जनाएको छ । योसँगै संस्थानको उपत्याकाभित्र शाखा संख्या चार पुगेको छ ।

Global Bank
easy care

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार

ताजा समाचार