व्यक्तिगत घटना दर्ता अब अनलाइनमै

Technology Khabar १८ फाल्गुन २०७७, मंगलवार

व्यक्तिगत घटना दर्ता अब अनलाइनमै
Classic Tech

तुर्माखाँद गाउँपालिकाबाहेक अछामका नौवटै स्थानीय तहले व्यक्तिगत घटनालाई अनलाइन दर्ता गर्न थालेका छन् ।

ढकारी गाउँपालिका र रामारोशन गाउँपालिकाका सबै वडा र मङ्गलसेन, साँफेबगर, पञ्चदेवल विनायक नगरपालिका र बान्नीगढी जयगढ, मेल्लेख र चौरपाटीले समेत अनलाइन घटना दर्ता थालनी गरेका छन् ।

ढकारी गाउँपालिकाका आठ र रामारोशन गाउँपालिकाका सातवटै वडाबाट व्यक्तिगत घटना दर्ताको कार्य भइरहेको छ। यस्तै मङ्गलसेनका १४ मध्ये नौ, चौरपाटीका सातमध्ये पाँच, कमलबजार नगरपालिकाका १० वडामध्येमा चार, मेल्लेख गाउँपालिकाका सातमध्येमा तीनवटा वडाबाट व्यक्तिगत घटना दर्ता अनलाइनमार्फत भइरहेको पाइएको छ ।

यस्तै बान्नीगढी–जयगढ गाउँपालिकाका छ वडामध्येमा पाँच, पञ्चदेवल विनायक र साँफेबगर नगरपालिकाका एक/एक वडामा अनलाइन घटना दर्ताको व्यवस्था रहेको छ ।

स्थानीय तहका अनुसार सबै वडामा बिजुली र इन्टरनेटको व्यवस्था गरेर व्यक्तिगत घटना दर्ता अनलाइनमा लैजाने योजना बनाएका छन् ।

धतुर्माखाँद गाउँपालिकाले अनलाइन घटना दर्ता गर्ने योजना बनाए पनि जनशक्ति अभावमा प्रारम्भ गर्न नसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढाले जानकारी दिए । जनशक्ति, इन्टरनेट र प्राविधिक समस्याले कतिपय स्थानीय तहका वडाको अनलाइनको काम पालिकाको केन्द्रबाट समेत भइरहेको बताइएको छ ।

सरकारले सन् २०२४ सम्म सबै वडाबाट जन्म, मृत्यु, विवाह, बसाइँ सराइ तथा सम्बन्ध विच्छेदका घटना अनलाइन दर्ता गर्ने लक्ष्य लिएको छ ।

अनलाइन घटना दर्ताले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता, विवरणको सुरक्षा र व्यवस्थित हुने भएको चौरपाटी गाउँपालिकाका एमआईएस अपरेटर कालुसिंह बोहराले जानकारी दिए । गोरखापत्रबाट

TK Viber

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

Loading...