नेपालमै फोन ‘एसेम्बल’ गर्ने सम्भावना बारेमा अध्ययन गरिँदै, कार्यबिधि समेत बनाइने

Technology Khabar १८ फाल्गुन २०७७, मंगलवार

नेपालमै फोन ‘एसेम्बल’ गर्ने सम्भावना बारेमा अध्ययन गरिँदै, कार्यबिधि समेत बनाइने
Classic Tech

नेपालभित्रै मोबाइल फोनहरु एसेम्बल गर्ने बारेमा अध्ययन गरिने र कार्यबिधि बनाईने भएको छ।

देशभित्र मोबाइल फोनको बढ्दो आयात र उपयोगका बिच सरकारले नयाँ फोनहरु एसेम्बल गर्न सकिने संभावना र पुराना फोनहरुलाई नै गुणस्तरीयरुपमा रिफर्बिस गर्न सकिने बारेमा अध्ययन गरेर कार्यबिधि तयार पार्ने भएको छ ।

नयाँ फोनहरु एसेम्बल गर्ने तथा पुराना फोनहरुलाई मापदण्डअनुसार मर्मत गरेर बजारमा बिक्रीका लागि उपलब्ध गराउन मापदण्ड बनाईने भएको छ।

नेपालमा भित्रने फोनहरुको आईएमईआई दर्ता गरेर मात्र आयात गर्ने प्रावधान रहेकोमा त्यस्ता फोनहरु पुराना भएपछि सेकेण्डह्याण्डमा बिक्री हुने गरेका छन् । तर त्यस्ता सेकेण्डह्याण्ड फोनहरु मापदण्डअनुसार मर्मत गरेर नयाँ जस्तै बनाएर बिक्री गर्न सकिने बारेमा समेत अध्ययन हुने भएको छ ।

यसको लागि नेपाल दूरसञ्चार प्राधिकरणले पुराना फोनहरुलाई मापदण्डअनुसार गुणस्तरीयरुपमा मर्मत गरेर रिफर्बिस्ड फोनको रुपमा बिक्री गराउने योजना लिएको छ ।

यसको लागि प्राधिकरणले निर्देशक मिन प्रसाद अर्यालको नेतृत्वमा अध्ययन कार्यटोली गठन गरेको छ । जसले आगामी ३० दिनमा नेपालमा रिफर्बिस्ड फोनको अवस्था र त्यसको मापदण्डको बारेमा प्रतिवेदन पेश गर्नेछ ।

सो टोलीमा प्राधिकरण, मोबाइल आयातकर्ता र अन्य सरोकारबालाहरुका प्रतिनिधिहरु रहेका छन् । टोलीमा विषय विज्ञसमेत राखिएको छ ।
निर्देशक तथा प्रवक्ता अर्यालले नेपालमा फोन एसेम्बल गर्न सकिने संभावना र रिफर्बिस्ड फोनको हालको अवस्थाका साथै आगामी दिनमा त्यस्ता फोनहरुको लागि मापदण्ड र बिक्री बितरण गर्ने प्रकृयाहरुको बारेमा अध्ययन गर्नेछ।

‘देशभित्रै फोन एसेम्बल गरेर तयार पार्ने र रिफर्बिस्ड फोनहरुको मापदण्ड बनाउनका साथै कसरी त्यसलाई उपयोग गर्ने भनेर अध्ययन गर्न लागिएको हो । यसैको आधारमा आगामी दिनमा प्राधिकरणले निर्णय गर्नेछ,’ प्रवक्ता अर्यालले भने ।

सो टोलीले नेपालमा नै मोबाइको एसेम्बलिङ्ग तथा रिफर्बिस गर्ने संभावित उद्योगको बारेमा हालसम्मको कामहरु तथा अन्तराष्ट्रिय प्रचलनहरुको बारेमा अध्ययन गर्नेछ ।

त्यसैगरि त्यस्ता उद्योगहरुबाट रोजगारी सिर्जना गर्न सकिने संभावनाको बारेमा समेत हेर्नेछ । यसका साथै एसेम्बलिङ्ग तथा रिफर्बिस गर्ने सम्बन्धमा सरोकारबालाहरु सबैको भूमिकाको पहिचानका साथै एसेम्बलिङ्ग तथा रिफर्बिस गर्ने सम्बन्धमा कार्यबिधि समेत तयार पार्नेछ।

हाल नेपालमा कुनैपनि मोबाइल कम्पनीहरुले फोन एसेम्बल गर्दैनन भने पुराना फोनहरु सेकेण्डह्याण्डको रुपमा मात्र बिक्री हुने गरेको छ । एसेम्बल भन्नाले फोनमा आवश्यक हुने विभिन्न सामग्रीहरु अन्य देशहरुबाट मगाएर त्यसलाई मापदण्डअनुसार जोडेर तयार पारेर फोन उत्पादन गर्नु हो। विश्वभर यसैगरि फोन उत्पादन गर्ने चलन रहेको छ।

त्यसैगरि पुराना र केहि बिग्रिएका पार्टपुर्जाहरुलाई मापदण्डअनुसार फेरेर नयाँ पार्टपुर्जाहरु जोडेर फोनलाई नयाँ जस्तै बनाएर फोन आधिकारीकरुपमा बेच्नुलाई ‘रिफर्बिस्ड फोन’ भनेर चिनिन्छ । एप्पलले समेत पुराना आईफोनहरुलाई नयाँ जस्तै बनाएर रिफर्बिस्ड आईफोनको रुपमा बेच्ने गरेको छ ।

TK Viber

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

Loading...