अमेरिकामा कम आय भएकालाई इन्टरनेटका लागि मासिक ५० डलरसम्म प्रदान गर्दै एफसीसी

Technology Khabar १७ फाल्गुन २०७७, सोमबार

अमेरिकामा कम आय भएकालाई इन्टरनेटका लागि मासिक ५० डलरसम्म प्रदान गर्दै एफसीसी
Classic Tech

कम  आय भएका घर परिवारलाई कोरोना महामारीका बीच इन्टरनेटको प्रयोग गर्न सहज बनाउने उद्देश्यले अमेरिकाको फेडेरल कम्युनिकेशन कमिशन एफसीसीले बिहीबार एउटा ब्रोडब्यान्ड सब्सिडी कार्यक्रम सार्वजनिक गरेको छ।

यस कार्यक्रम अन्तर्गत कम आय भएका व्यक्तिहरुलाई कोरोना महामारीअवधिभर इन्टरनेट सेवा प्रदायकमार्फत् मासिक ५० डलरसम्म क्रेडिट दिइनेछ। यसका लागि एफसीसीको इमर्जेन्सी ब्रोडब्यान्ड बेनिफिट प्रोग्रामको बजेट लगभग ३ करोड २० लाख डलर रहेको छ।

यसै कार्यक्रम अन्तर्गत आदिवासी क्षेत्रका कम आय भएका घरधुरीले मासिक ७५ डलरसम्म पाउनेछन्।

कार्यक्रमले यो सेवा पाउन योग्य घरधुरीलाई कम्प्युटर र ट्याबलेट किन्न पनि १०० डलरसम्म प्रदान गर्नेछ।

यस कार्यक्रमले धनी र गरिबबीचको सूचना पहुँचको खाडल (डिजिटल डिभाइड) लाई घटाउने अपेक्षा गरिएको छ। गत वर्षदेखि फैलिएको कोरोना महामारीका कारण अमेरिका लगायत विश्वभरी नै इन्टरनेटका माध्यमबाट घरमै बसेर काम गर्नुपर्ने स्थिति आएकोले यो कार्यक्रमले कम आय भएका थुप्रै घरधुरीलाई राहत पुर्याउने आकलन गरिएको छ।

एफसीसीका अनुसार अमेरिकाका लगभग २ करोडभन्दा बढी जनसङ्ख्या उच्च गतिको इन्टरनेटको सुविधाबाट वञ्चित छन्। तर यस्ता मानिसहरुको सङ्ख्या त्योभन्दा निकै धेरै रहेको जानकारहरुको भनाइ छ।

गत वर्ष कांग्रेसबाट पारित भएको कोरोना भाइरस राहत प्याकेजमा एफसीसीको नयाँ कार्यक्रमको प्रावधान पनि समावेश गरिएको थियो। यसै सम्बन्धमा एफसीसीले पनि ब्रोडब्यान्डको उपलब्धतासम्बन्धी तथ्याङ्क संकलनमा सुधार गर्न यसै वर्ष नयाँ कार्यदल पनि गठन गरेको छ।

एफसीसीकी निमित्त अध्यक्ष जेसिका रोजनवर्सेलले यस कार्यक्रमका लागि आगामी ६० दिनभित्र साइन अप सुरु हुने बताएकी छिन्। ६० दिन भित्रमा इन्टरनेट सेवा प्रदायकहरुका लागि आवश्यक सिस्टम तयार गर्ने उनको भनाइ छ।

TK Viber

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

Loading...