क्यान महासंघका पूर्व अध्यक्षहरु फेरि चुनाव लड्न पाउने, कार्यसमितिको अवधि १ वर्ष लम्ब्याईयो

Technology Khabar १६ फाल्गुन २०७७, आईतवार

क्यान महासंघका पूर्व अध्यक्षहरु फेरि चुनाव लड्न पाउने, कार्यसमितिको अवधि १ वर्ष लम्ब्याईयो

काठमाडौं ।

क्यान महासंघले आफ्नो विधान संसोधन गरेर पूर्व अध्यक्षहरुले समेत पुन: निर्वाचनमा प्रतिस्पर्धा गर्नसक्ने बनाएको छ।

कम्प्युटर व्यवसायी विज्ञ र सरोकारबालाहरुको छाता संगठन क्यान महासंघको २७ औं वार्षिक साधारण सभाले पूर्व अध्यक्षहरुलाई चुनाव लड्न बाटो खुला गरेसँगै अन्य महत्वपूर्ण संसोधनहरु समेत गरेको छ ।

महासंघले वर्तमान अध्यक्षको कार्यकाल थप १ वर्ष बढाएको छ भने अध्यक्ष भईसकेको व्यक्तिले पुनः निर्वाचनमा प्रतिस्पर्धा गर्नसक्ने गरि विधान संसोधन गरेको छ।

वर्तमान अध्यक्ष नवराज कुँवरको नेतृत्वमा रहेको हालको कार्यसमितिको कार्यकाल अब थप १ वर्ष बढाईएको छ । जसअनुसार बाँकी १ वर्षमा थप गरेर अब कुँवर नेतृत्वको कार्यसमितिले २ वर्षसम्म काम गर्न पाउनेछ।

हालको कार्यसमितिको म्याद थप गर्नुमा कोरानाभारसको महामारी र लकडाउनलाई आधार मानिएको छ ।

त्यसैगरि हालका अध्यक्ष तथा पूर्व अध्यक्षहरुले फेरी चाहेको खण्डमा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेगरि विधान परिवर्तन गरिएको क्यान महासंघ कार्यसमितिका एक सदस्यले परिचय नखुलाउने शर्तमा जानकारी दिए।

क्यानमा छलफल नै नभई सिधै संसोधनको लागि ल्याईएका विषयहरुले क्यानलाई फेरी कमजोर बनाउने जोखिम देखिएको उनले दाबी गरे । काम गर्नेलाई २ वर्ष नै काफी भएको अवस्थामा समयावधि लम्ब्याउने र पूर्व अध्यक्षलाई चुनाव लडाउनु उचित नहुने उनले बताए।

‘यो विद्यान संसोधन नयाँ युवा नेतृत्वलाई आउन नदिने गरि सुनियोजितरुपमा ल्याईएको छ। जसले कसैलाई पनि फाइदा गर्दैन्,’ ती सदस्यले जिकिर गरे।

यसअघि हालका अध्यक्ष कुँवर उपाध्यक्ष भएको कार्यसमितिले नै ३ वर्षे कार्यकाल लामो भएको र २ वर्षमा नै धेरै काम गर्न सकिने भन्दै कार्यकाल अवधि कम गर्ने निर्णय पारित गरेको थियो ।

यसका साथै क्यान महास‌ंघले जिल्लाको भोटिङ्ग अधिकार समेत खुम्च्याईदिएको छ । यसअघि ३० प्रतिशत भार रहेको जिल्लामा १० सदस्य बराबर १ प्रतिनिधि हुन पाउने व्यवस्था रहेकोमा अब भने त्यसलाई ५० जना सदस्य बराबर १ प्रतिनिधि निर्वाचनमा पठाउन सकिने बनाएको छ।

यसले जिल्लाको अधिकारलाई खुम्च्याएको एक जिल्ला सदस्यले गुनासो गरे ।

‘जिल्लाबाट आउनुभएका अध्यक्षले जिल्लालाई नै खुम्च्याउनुभयो । भोली जिल्लामा क्यानको गतिबिधिहरु बिस्तार नहुने स‌ंभावना रहेको छ,’ ती सदस्यले भने।

Global Bank
easy care

प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार

ताजा समाचार