डिजिटल सिटी बन्दै बुटवल, सबै क्षेत्रलाई ‘डिजिटलाइज्ड’ गराईँदै

Technology Khabar १५ फाल्गुन २०७७, शनिबार

डिजिटल सिटी बन्दै बुटवल, सबै क्षेत्रलाई ‘डिजिटलाइज्ड’ गराईँदै
Classic Tech

बुटवल उपमहानगरपालिकालाई डिजिटल सिटी बनाउने अभियानलाई गति दिन थालिएको छ । यसअन्तर्गत सबै क्षेत्रलाई ‘डिजिटलाइज्ड’ गराउन अहिले धमाधम काम भइरहेको छ ।

केही दिनअघि विद्युतीय भुक्तानी प्रणालीको औपचारिक शुभारम्भ गरेको उपमहानगरपालिकाले डिजिटल सिटीको अवधारणालाई साकार पार्न जनशक्ति तयार गरिरहेको जनाएको छ । पालिकाले आफ्ना कर्मचारीदेखि टोलटोलमा विशेष प्रशिक्षण दिइरहेको छ ।

पहिलो चरणमा बुटवलमा रहेका करिब चार सय टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई विद्युतीय भुक्तानीसहितको मोबाइल एप र नयाँ प्रविधिका बारेमा विशेष प्रशिक्षण दिइएको हो । १९ वटै वडाका सबै टोल विकास संस्थालाई पालैपालो प्रशिक्षण दिइएको थियो ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले नयाँ प्रविधि तथा डिजिटल सिस्टमका बारेमा अद्यावधिक बनाउने र टोलटोलबाट अभियान साकार पारिने बताए ।

विद्युतीय कारोबारलाई थप व्यवस्थित र विश्वसनीय बनाउँदै समुदायमा वित्तीय साक्षरताको पनि विकास गर्ने अभियान चलाइएको बताउँदै उनले कर तिर्न लाइन लाग्नुपर्ने परम्परागत शैलीलाई विस्थापित गरिरहेको उल्लेख गरे । उनका अनुसार अहिले उपमहानगरपालिकाले अनलाइनबाटै सबै प्रकारका राजस्व तिर्न मिल्ने व्यवस्था गरेको छ ।

यसअनुसार उपमहानगरपालिका र यसअन्तर्गत १९ वटै वडामार्फत अनलाइन प्रणालीबाट राजस्व सङ्कलन सुरु भएको छ । यो सेवा विस्तार सँगै जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिनेछ ।

उपप्रमुख गुमादेवी आचार्यले बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलब्ध गराउने अभियानलाई तीव्र पारिएको बताईन्  । उनको भनाइमा सेवा प्रवाहलाई अझ सहज, छरितो र विश्वसनीय बनाउँदै उपमहानगरलाई डिजिटल सेवा केन्द्रका रूपमा विकास गरिएको छ ।

नगरपालिकाले सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाइ सेवा शुल्क, अचल सम्पत्ति मूल्याङ्कन शुल्क, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायत राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्नसक्ने व्यवस्था मिलाएको छ ।

यसलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सबै टोल विकास संस्थामा आबद्धलाई विशेष प्रशिक्षण दिइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको साझेदार बेलायत सरकारको दातृ निकाय नेपाल सहरी उत्थानशीलता परियोजनाको सहकार्यमा यस्तो विशेष प्रशिक्षण दिइएको होध्र बुटवलमा काठमाडौँ उपत्यकापछि पहिलो पटक इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबपीएस)को शुभारम्भ भएको थियो । त्यससँगै करिब ४० हजार घरलाई डिजिटल हाउस नम्बरिङमा जोडिएको छ भने जीपीएस र जीआईएस प्रविधिमा आधारित डिजिटल सिस्टम जडान गरिएको छ ।

अहिले सुरु गरिएको ई–पेमेन्ट सिस्टमसँगै बुटवलले डिजिटल प्रविधिमा अर्को फड्को मारेको प्रमुख सुवेदीको भनाइ छ । जनप्रतिनिधि आएपछि वृद्धि हुँदै गएको राजस्व सङ्कलन अनलाइन प्रणालीको प्रयोगसँगै अझै बढ्ने उनको विश्वास छ ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपनगरपालिकाका कामलाई समयअनुकूल र सूचना प्रविधिसँग जोड्दै डिजिटल युगमा फड्को मार्न धेरै अभ्यास गरिएको बताए । आजको गोरखापत्रबाट

TK Viber

प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार

Loading...