Technology Khabar १५ फाल्गुन २०७७, शनिबार
सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति रु. बीस हजार (२०,०००) सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गरेको हो ।
सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गरेका हुन्।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९२ वटा ए.टि.एम. संचालनमा रहेको जनाएको छ ।
प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार