किसान सेन्टरमार्फत एकद्वार प्रणाली स्थापना गर्ने तयारी

Technology Khabar १५ फाल्गुन २०७७, शनिबार

किसान सेन्टरमार्फत एकद्वार प्रणाली स्थापना गर्ने तयारी
NTC_Advt

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने तयारी गरिएको बताएकी छन् ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कृषिको सूचना व्यवस्थित गर्ने सन्दर्भमा किसान सेन्टरमार्फत एकद्वार प्रणाली स्थापना गर्ने तयारीमा रहेको बताएकी हुन् ।

‘प्रविधि प्रशारण र प्रविधि हस्तान्तरण महत्वपूर्ण कुरा हो । अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्’, मन्त्री अर्यालले भनिन्, ‘प्रविधिको प्रयोग गर्ने किसानहरुको संख्या बढाउदै जानुपर्छ । हामीले किसान सेन्टर एकद्वार प्रणालीको स्थापना गरेर कृषिको सूचना व्यवस्थापन गर्छौँ ।’

कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता बिकृत्तिलाई तोडेर जाने मन्त्री अर्यालले बताइन् । उनले भनिन्, ‘तपाईहरुले बारम्बार उठाउँदै आउनुभएको छ । कृषिमा मिलिजुली, ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता समस्या रहेका छन् । यति पैसा लगेपछी यति मलाई भन्ने बिकृत्ति तोडेरै छाड्छौ । यसलाई तोडेरै हामी जान्छौँ ।’

कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिति तोड्नका निम्ती कार्यबिधी बनाइसकेको भन्दै उनले त्यहाँ देखिएको फोहोर व्यवस्थापन, स्टल व्यवस्थापन र सवारीसाधन व्यवस्थापनमा देखिएका समस्यालाई सिस्टममा ल्याएरै छाड्ने बताइन् । उनले हिजोको कालिमाटी नभएर फरक खालको कालिमाटी देख्न पाउने समेत बताइन् ।

आफूले पदभार ग्रहण गर्दैगर्दा उखु किसानहरुको चर्को समस्या रहेको भन्दै समस्या समाधानका निम्ती के गर्न सकिन्छ भनेर उपायहरु खोज्दैजाँदा सम्बन्धित मन्त्रालय नभएपनि किसानहरुको मर्का समाधान गर्न ३ दिनभित्र निकास निकालेको उनले सुनाइन् । अहिले धेरै उखु किसानहरुले भुक्तानी पाइसकेको उनको भनाइ छ ।

मलको समस्या समाधान गर्न दीर्घकालीन रुपमा मलको समस्या समाधान हुनेगरी अगाडि बढेको मन्त्री अर्यालले बताइन् । ‘मलको समस्या आजको समस्याको समाधानसँगै दिर्घकालिन रुपमा के समाधान दिन सकिन्छ भनेर हामी अगाडी बढेका छौ’, मन्त्री अर्यालले भनिन्, ‘अब रासायनिक मलको अभावमा किसानहरु छटपटाउनुपर्दैन । हामी त्यही समस्या समाधान गर्नका निम्ती लागिरहेका छौं ।’

तर खुला सिमानाका कारण भारतबाट मल आउने र त्यसबाट उत्पन्न हुने बिकृत्तिलाई तत्काल रोक्न सक्ने अवस्था नभएपनि व्यवस्थित भने गरिने मन्त्री अर्यालको भनाइ थियो । मलको समस्या समाधान गर्न सातै प्रदेशमा रासायनिक मलको भण्डार स्थापना गर्नेगरी मन्त्रालय अगाडी बढेको उनले बताइन् ।

प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार