ताम्राकार कम्प्लेक्सका व्यवसायीलाई जनसेवा प्रहरीले दुख दिएकोमा मोबाइल व्यवसायी संघको आपत्ति

Technology Khabar १४ फाल्गुन २०७७, शुक्रबार

ताम्राकार कम्प्लेक्सका व्यवसायीलाई जनसेवा प्रहरीले दुख दिएकोमा मोबाइल व्यवसायी संघको आपत्ति
Classic Tech

ताम्राकार कम्प्लेक्समा मोबाइल कारोबार गरिरहेका मोबाइल व्यवसायीहरुले प्रहरीले आफूहरुलाई अनावश्यक दुख र धरपकड गरेको भन्दै विरोध जनाएका छन् । मोबाइल व्यवसायी संघ, ताम्राकार कम्प्लेक्सले आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै कम्प्लेक्सका मोबाइल पसलहरुमा बिक्रीका लागि राखिएका मोबाइल फोनसेट महानगर जनसेवा प्रहरी कार्यालयका प्रहरीहरुले गैरकानूनीरुपमा लगेको भन्दै विरोध जनाएका हुन् ।

उनीहरुले आफूहरुलाई अवैध कारोबारी भन्दै आक्षेप लगाईएकोमा गंभिर आपत्ति रहेको भन्दै प्रहरीले अनावश्यक दुख दिएको गुनासो गरेका हुन् ।

संघका अध्यक्ष जगत साउदले कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुलाई लान्छना लगाउने र उनीहरुले अबैध कारोबार गरिरहेको आरोप लगाउँदै समाचार सामाग्रीहरु आएकोमा हाम्रो गंभिर ध्यानाकर्षण भएको बताए ।

‘महानगरिय जनसेवा प्रहरी कार्यालय विशालबजारबाट सादा पोसाकमा प्रहरीहरु आएर हचुवाको भरमा मोबाइल व्यवसायीहरुको पसलबाट सामानहरु उठाएर लगेको र कर्मचारीहरुलाई थुनेको घटनालाई केहि संचारमाध्यमहरुले अतिरंजित गरि व्यवसायीहरुलाई नै आक्षेप लगाउने कार्य गरेको देखिएको छ,’ उनले भने ।

व्यवसायीहरुले कानूनीरुपमा दर्ता गरेर तथा सरकारी राजश्व बुझाउँदै आफ्नो व्यापार व्यवसाय गरिरहेको र पसलहरुमा बिक्री गरिने मोबाइल सेटहरु समेत बिल बिजकसहित बेचबिखन गर्ने गरेको बताएका छन् ।

त्यसैगरी प्रहरीले गैरकानूनीरुपमा पसलबाट ग्राहकहरुले मर्मतका लागि पसलमा ल्याएर छोडेका मोबाइल फोन सेटहरु समेत हचुवाको भरमा उठाएर लगेको हुँदा ग्राहकहरुलाई त्यस्ता फोनहरु फिर्ता गराउन समेत कठिन भएको गुनासो समेत गरे।

‘मर्मतका लागि छोडेका ग्राहकहरुको फोन लिन आउने समयमा उनीहरुलाई सो फोन दिन सक्ने अवस्था नभएको र त्यसले ग्राहकहरुको मोबाइल फोनमा रहेका विभिन्न डाटाहरु तथा व्यक्तिगत जानकारी समेत चोरी हुनसक्ने देखिएको छ । त्यसको जिम्मेवारी समेत प्रहरी प्रशासनले लिनुपर्नेछ,’ अध्यक्ष साउदले भने ।

कम्प्लेक्सका व्यवसायीहरुले जनसेवा प्रहरीका डिएसपीको आदेशमा गैर कानूनीरुपमा ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुलाई तर्साउने कार्य भएको भन्दै यस्तो कार्य आगामी दिनमा बन्द गरिनुपर्ने र मर्यादितरुपमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

उनीहरुले जनसेवा प्रहरीले हाम्रा पसलहरुबाट अवैधरुपमा जबर्दस्ती लगेका मोबाइल सेटहरु फिर्ता गरि क्षतिपूर्तिसमेत प्रदान गर्न कडारुपमा माग गर्दछौं । अन्यथा हामी सम्पूर्ण व्यवसाय बन्द गरेर कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।

TK Viber

प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार

Loading...