Technology Khabar १४ फाल्गुन २०७७, शुक्रबार
हरेक वर्ष फेबु्रअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
ललितपुरमा आयोजित ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा डिजिटल शिक्षाको महत्व, आवश्यकता र सरकारी तवरबाट गरिएको प्रयासहरूको बारेमा छलफल भएको थियो ।
‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा वक्ताहरूले सरकारले तयार पार्ने पोलिसी तथा मास्टरप्लान अनुसार कार्यान्वयनमा जोड दिँदै अघि बढ्नुपर्ने बताए ।
पूर्वमन्त्री गणेश शाहले अब सरकारी र निजी क्षेत्रको सहकार्यमा डिजिटल वल्र्डको लागि तयार हुनुपर्ने बताए । कोभिड १९ को कारण सरकारले बैकल्पिक शिक्षा सिकाइ कार्यक्रम ल्याएको भए तापनि अब यसलाई शिक्षा रूपान्तरणको रूपमा नै अघि बढाउनुपर्ने उनले बताए ।
कार्यक्रममा प्राडा. सुवर्ण शाक्यले इन्फ्रास्ट्रक्चरको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले ग्रामीण क्षेत्रसम्म पूर्वाधारको विकास गर्दै आवश्यक कन्टेन्टको लागि निजी क्षेत्रसँग सहकार्य गरी बढ्नुपर्ने शाक्यको भनाइ थियो ।
कार्यक्रममा ‘रिइमाजेनिङ डिजिटल एजुकेशनः पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन भएको थियो भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन भएको थियो ।
सबै विद्यार्थीहरूको लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ देखि डिजिटल लर्निङ दिवस (Digital Learning Day) विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको हो।
शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नविन डिजिटल सिकाइमा जागरूकता फैलाउन गरिएको प्रयासलाई डिजिटल लर्निङ डेको रूपमा लिइएको कार्यक्रम संयोजक नेहा जोशीले बताइन् ।
निमा एकेडेमीको आयोजना तथा लिभिङ विथ आइसिटी र सोचवेयरको सह आयोजनामा डिजिटल लर्निङ डेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो ।
प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार