प्रविधिमैत्री हुँदै हुलाक कार्यालयका सेवाहरु, गुगल प्लस कोडमा आधारित रहेर सेवा उपलब्ध गराउँदै

Technology Khabar १३ फाल्गुन २०७७, बिहीबार

प्रविधिमैत्री हुँदै हुलाक कार्यालयका सेवाहरु, गुगल प्लस कोडमा आधारित रहेर सेवा उपलब्ध गराउँदै
Classic Tech

परम्परागत कार्यशैलीमा सञ्चालन भईरहेका हुलाक कार्यालयले अब चिठीपत्रहरु प्रविधिको प्रयोग गरेर प्रापकको ठेगानामा नै सटिकरुपमा उपलब्ध गराउने भएको छ । हुलाक कार्यालयले गुगल प्लस कोड लागु गरेर चिठिपत्रहरु सहि ठेगानामा पुर्याउने भएको हो ।

यसको लागि मन्त्रिस्तरीय निर्णय गरेर हुलाक वस्तु बितरणका लागि गुगल प्लस कोड प्रयोग सम्बन्धि कार्य संचालन प्रक्रिया लागु गरेको छ । सो प्रक्रियाको आधारमा हुलाक कार्यालयहरुले सेवाग्राहीको घरदैलोमा नै सेवा उपलब्ध गराउन सक्ने भएका हुन् ।

हुलाक कार्यालयले प्रविधिलाई आत्मसात गर्दै आफ्ना सेवाहरुलाई आधुनिकरण गर्ने भएको गोश्वारा हुलाक कार्यालयका प्रमुख प्रद्युम्न उपाध्यायले जानकारी दिए ।

अहिलेको अवस्थामा शहरमा घर नम्बर वा बसोबास गर्ने स्थानको स्पष्ट ठेगाना नभएको हुँदा सजिलै चिठीपत्र पुर्‍याउन नसकिने भएकोले गुगलको माध्यमबाट प्रापकको घर वा कार्यालयसम्म पुर्‍याउने व्यवस्था गर्न लागेको प्रमुख उपाध्यायले बताए।

हाल यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकामा शुरु भईसकेको र काठमाडौं उपत्यकालाई पाइलटिङ्ग गरेर संचालन गरिसकिएको उनले जानकारी दिए ।

‘अब सेवाग्राहीले गुगल म्याप्समा आफ्नो घरको कोड नम्बर हालेपछि सोही आधारमा घरको ढोकामा नै सेवा उपलब्ध गराउन सकिनेछ। चिठीमा लेखिएको ठेगानामा प्रापकले उक्त गुगल प्लस कोड राखेमा सहजै हुलाकका कर्मचारीले घर वा कार्यालयमा पुर्‍याउँछन्,’ उनले भने ।

यसले सेवाग्राहीहरुलाई हुलाको सेवा लिन निकै सहज हुने बताए । यसका साथै कुनै अन्य सार्वजनिक सेवाहरु तथा आकस्मिक सेवाहरु समेत गुगल प्लस कोड लागु गरेर सजिलै लिनसकिने उनले स्षप्ट  पारे ।

उपाध्यायका अनुसार अब हुलाक सेवा प्रविधिमैत्री बन्दैछ। शहरीकरण बढदै गएकाले हुलाकका कर्मचारीलाई घर खोजेर चिट्ठी दिन समस्या भएकोले यस्तो प्रविधि सुरुवात गर्न लागिएको हो।

यो प्रविधि प्रयोगमा आएसँगै हुलाक कार्यालयहरुलाई समेत सेवा प्रदान गर्न र चिठीपत्र पुर्याउन सजिलो हुनेछ।

‘अहिले ठेगाना थाहा नहुँदा बैंकका पत्रहरु अदालतका आदेशहरु पुर्याउन कठिन भएको र सम्पर्क गर्न नसक्दा फिर्ता हुने गरेका छन अब भने त्यस्ता समस्या नहुने र सेवा सहज हुनेछ,’ प्रमुख उपाध्यायले भने ।

उनकाअनुसार यसले चिठीपत्रका साथै ईकमर्स कम्पनीहरुलाई समेत सहि स्थान र लोकेसनमा सामान तथा सेवा उपलब्ध गराउन सजिलो हुनेछ ।

कसरी गर्ने गुगल प्लसकोड जेनेरेट

गुगल प्लस कोडमा आधारित सेवा लिनका लागि सेवाग्राहीहरुले गुगल म्याप्स एप प्रयोग गर्नुपर्नेछ । गुगलको म्याप्स सेवामा आफूले मालसामान वा चिठीपत्र प्राप्त गर्ने स्थानको गुगल कोड सिर्जना गर्न सक्नेछन् । सोही कोडको आधारमा हुलाक कार्यालयले म्याप्सको आधारमा सेवाग्राहीको लोकेसनमा सेवा उपलब्ध गराउने छ ।

यसको लागि सेवाग्राहीले लोकेसन कोड बनाउन सक्नेछन् ।

एउटै घरमा पनि विभिन्न तल्लाहरुमा बस्ने व्यक्तिहरुले फरक/फरक कोड सिर्जना गर्न सक्नेछन भने सोही कोडको आधारमा हुलाक कार्यालयले सेवा उपलब्ध गराउने छ । सो ६ अंकको कोडको आधारमा सेवा उपलब्ध हुनेछ ।

यस्तो गुगल प्लस कोड सिर्जना गर्न र प्रयोग गर्न कुनै अतिरिक्त शुल्क लाग्दैन् ।

TK Viber

प्रकाशित: १३ फाल्गुन २०७७, बिहीबार

Loading...